
काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) डा. मनोज कुमार के.सीको अडियो भन्दै सामाजिक सञ्जालमा प्रशारित भिडियोबारे सम्बन्धित व्यक्तिले कानुनी उपचारमा जाने बताएका छन् ।
नुवाकोट घर भएका नारायण भण्डारी सामाजसेवी र एआइजी केसीबीच भएको संवादलाई प्रहरी महानिरिक्षक कार्कीलाई हटाउने खेल भन्दै भ्रामक समाचार प्रशारण गरेकोमा आपत्ति जनाएका छन् । उक्त अडियोको आधिकारिकता, प्रमाणिकरण बिना अन्तिम सत्यको रुपमा आफूलाई विचौलिया भन्दै दुष्प्रचार गरिएकोमा उनको आपत्ति छ ।
‘पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा मेरो नाम जोडेर प्रहरी अधिकारी तथा एआईजी मनोज केसीसँग सम्बन्धित विषयमा विभिन्न अडियो र समाचारहरू सार्वजनिक तथा प्रसारित भइरहेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ भण्डारीले भनेका छन्,‘प्रसारित सामग्रीको सत्यता, प्रामाणिकता, स्रोत र सन्दर्भबारे निष्पक्ष रूपमा पुष्टि हुन आवश्यक छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको कुनै पनि अडियो वा त्यससँग जोडिएका दाबीलाई आधिकारिक प्रमाणीकरणबिना अन्तिम सत्यका रूपमा लिइ बिचौलिया जस्तो गम्भिर आरोप नलगाउन सबैमा अनुरोध गर्दछु ।’
रास्वपा सांसद खगेन्द्र सुनारलाई फसाउन रचिएको खेलको अडियो आफूले रकेर्ड गरेपछि आफ्ना विरुद्ध विभिन्न व्यक्तिहरु लागेको उनको आरोप छ । त्यस्तै नुवाकोटकै भनिएका एआइजी केसी निडर, ईमान्दार छबी बनाएको सुनिएपनि आफूले जिन्दगीमा फोन वा म्यासेज नपठाएको उनको जिकिर छ ।
‘खगेन्द्र सुनार लाई फसाउन रचिएको खेलको मैले रेकर्डिङ गरेपछी मलाई सिध्याउन पछी पर्ने हरुले नुवाकोटका भनिएका जिन्दगी फोन म्यासेज नभएको नेपाल प्रहरीका ईमान्दार र निडर छवी भएका मनोज केसी लाई धमिलाउन लागि परेका छन् सोही योजना अनुसार उहा माथी मिडिया प्रहार भयो,’ उनले भनेका छन् ।
भण्डारीले आफूले प्रहरी महानिरिक्षक दानबहादुर कार्कीसँग भने पटक पटक भेट गरेको बताएका छन् ।
‘मेरो भेट र संवाद प्रहरी प्रमुख दान बाहादुर कार्की सङ्ग भने पटकपटक भएको थियो । अडियोमा सुनिने आवाज म सङ्ग कति मेल खान्छ ,त्यसको स्रोत, रेकर्डिङको अवस्था, सम्पादन भएको वा नभएको विषय तथा वास्तविक सन्दर्भ प्राविधिक र आधिकारिक परीक्षणबाट मात्रै स्पष्ट हुन सक्छ । त्यसैले सम्बन्धित विषयमा निष्पक्ष छानबिन र तथ्यमा आधारित निष्कर्षको अपेक्षा गर्दछु,’ उनले भनेका छन्,‘मसँग सम्बन्धित विषयमा कुनै आर्थिक लेनदेन वा कारोबार भएको दाबी गरिएको छ भने त्यसको पुष्टि गर्ने आधिकारिक प्रमाण, तथ्य र विवरण सार्वजनिक गरियोस र बिचौलियाको ट्याग लगाईयोस । अनुमान, अपुष्ट सूचना वा सामाजिक सञ्जालमा फैलिएका सामग्रीका आधारमा कसैको प्रतिष्ठामा आँच आउने अवस्था सिर्जना हुनु उचित हुँदैन ।’
खगेन्द्र सुनारको अडियो सार्वजनिक भएपछि अडियो सार्वजनिक गराएको दाबी गर्ने किरण नेपालीसँग उनले संवाद गरेको अर्को अडियो सार्वजनिक भएको थियो । सोही अडियो आएपछि भण्डारीलाई भेट्न महानिरिक्षक कार्की ठमेलस्थित मल्ल होटल नजिकैको थकाली किचेनमा पुगेका थिए । उक्त भिडियोको भिडियो समेत दियोपोस्ट, ग्यालेक्सी खबर लगायतको संचार माध्यमले सार्वजनिक गरिसकेका छन् ।
