
काठमाडौँ। बिचौलिया इनम सापकोटासँग शङ्कास्पद सम्बन्ध देखिएका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको विषयमा समाचार प्रकाशन गरेको भन्दै बिहीबार केही सञ्चारमाध्यममा सादा पोसाकको प्रहरी पठाएर आतङ्क मच्चाइयो। बिचौलियासँग शङ्कास्पद सम्बन्ध देखिएकै कारण प्रहरी महानिरीक्षक कार्कीको राजीनामा माग भएको विषयमा प्रकाशित समाचारलाई लिएर ‘नेपाल प्रेस’का पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरी साइबर ब्युरोमा समेत उपस्थित गराइयो।
प्रहरी महानिरीक्षकसँग सम्बन्धित समाचार लेखेकै कारण केही पत्रकारको खोजी अझै जारी छ। उनै प्रहरी महानिरीक्षक दानबहादुर कार्की र उनकी श्रीमती नविना खत्री कार्कीविरुद्ध ज्यान मुद्दा समेत प्रहरी, सरकारी वकिल र अदालतमा विचाराधीन रहेको पाइएको छ। सुरक्षासम्बन्धी समाचार लेख्ने पत्रकार मदन भण्डारीमाथि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सांघातिक हमला गराएको भन्दै भण्डारीले न्यायका लागि विभिन्न निकायमा हारगुहार माग्दा समेत न्यायको आभास पाउन सकेका छैनन्।
घटना २०८२ साल कात्तिक २५ गते बेलुकी करिब ७ः०५ बजेको हो। काठमाडौँको तीनकुने स्थित सिद्धार्थ कटेज रेस्टुरेन्ट एण्ड बारमा चिया, कफी र खाजा खाएर बाहिर निस्किएका पत्रकार मदन भण्डारीलाई पार्किङमा राखिएको स्कुटरतर्फ जाँदै गर्दा ६–७ जनाको हुलले अकस्मात् घेरा हालेको थियो। आक्रमणकारीहरूले उनीमाथि जाइलाग्दै, “हाम्रो दानबहादुर दाइको बारेमा समाचार लेखेर सिध्याउन खोज्ने तँ नै होइनौ [तँ होइनस्]? तँलाई आज हामी नमारी छोड्दैनौँ।” भन्दै तथानाम गालीगलौज गरेका थिए।

सो समूहले आफूहरूसँग भएको हेल्मेट तथा अन्य घातक वस्तुहरू प्रयोग गरी पत्रकार भण्डारीको टाउको लगायत संवेदनशील अंगहरूमा जथाभाबी र निर्मम प्रहार गरेको थियो। उक्त सांघातिक आक्रमणबाट भण्डारी घटनास्थलमै बेहोस भई ढलेका थिए। पीडित बेहोस भएर ढलेपछि नजिकै रहेका रेस्टुरेन्टतर्फका ग्राहक र कर्मचारीहरू चिच्याएपछि मात्रै आक्रमणकारीहरू “साला अब मर्यो, अब दाइ–भाउजुलाई खबर गर्नुपर्छ” भन्दै फरार भएका थिए। त्यस लगत्तै स्थानीय र कर्मचारीको सहयोगमा उनलाई उपचारका लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुर्याइएको थियो। अस्पतालको रिपोर्ट अनुसार भण्डारीको टाउकोमा गहिरो चोट हुनुका साथै आँखा, हात र छातीमा गम्भीर चोटपटक लागेको थियो। उक्त चोटपटकका कारण उनलाई निरन्तर रिँगटा लाग्ने, लड्ने तथा वाकवाक लाग्ने गम्भीर स्वास्थ्य समस्या अहिले पनि भइरहेको छ।
घटनापछि पीडित पत्रकार भण्डारी न्यायको खोजीमा प्रहरी वृत्त नयाँ बानेश्वर पुगेका थिए। तर त्यहाँ प्रहरीले घटनाको निष्पक्ष छानबिन गर्नुको सट्टा उल्टै मुख्य योजनाकारको रूपमा जाहेरीमा उल्लेख गरिएका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र उनकी श्रीमती नविना खत्री कार्कीको नाम जाहेरी दरखास्तबाट हटाए मात्रै जाहेरी दर्ता गर्ने र सनाखत गराउने भन्दै ढिपी कसेको थियो। प्रहरी वृत्त नयाँ बानेश्वरका तत्कालीन डिएसपी हरि खतिवडासहितका अधिकारीहरूले मुख्य नाइकेहरूको नाम हटाउन दबाब दिएपछि पीडितको जाहेरी दर्ता हुन सकेन। जाहेरी हुलाकमार्फत तीनकुने प्रहरी वृत्तमा पुग्यो। तर, प्रहरीले जाहेरी लिएन। तत्कालीन काठमाडौँ प्रहरी प्रमुख एसएसपी रमेश थापा जाहेरी दर्ता गर्नुको सट्टा डिएसपी हरि खतिवडालाई लिएर शंखमूलस्थित भण्डारीको कोठामै गएर प्रहरी महानिरीक्षक दानबहादुर कार्कीविरुद्धको जाहेरी फिर्ता लिन दबाब दिए।

प्रहरीले जाहेरी दर्ता गर्न ठाडै इन्कार गरेपछि पीडित भण्डारीले उच्च अदालत पाटनमा परमादेश माग गर्दै रिट दायर गरे। तर अदालतमा जवाफ पेस गर्ने क्रममा प्रहरी वृत्त नयाँ बानेश्वर र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जाहेरी दर्ता भई अनुसन्धान भइरहेको भनी अदालतलाई समेत लिखित रूपमा ढाँट्ने काम गरे। अदालतमा मुद्दाको प्रभाव छल्नका लागि मात्रै सतही रूपमा कागजी नाटक रचिएको थियो। पछि गएर जब अनुसन्धानको प्रगति विवरण मागियो, तब महान्यायाधिवक्ताको कार्यालयको २०८२ फागुन २५ गतेको पत्रमार्फत उक्त आरोपित (दानबहादुर कार्की र नविना खत्री कार्की) लाई मुद्दा नचलाउने निर्णय भइसकेको रहस्य खुल्न आयो।

महान्यायाधिवक्ताको कार्यालयले २०८२ फागुन १९ गते मुद्दा नचलाउने निर्णय गरेको थियो। पीडित भण्डारी तथा जाहेरवाला प्रहरी कार्यालयमा सम्पर्कमा नआएको र हुलाकबाट पठाएको जाहेरी सनाखत गर्न उपस्थित नभएको भनी मुद्दा नचलाउने निर्णय गरिएको थियो। पीडित भण्डारी डिएसपी हरि खतिवडालाई पटक–पटक फोन र म्यासेज गरी सनाखतका लागि बोलाए पनि दानबहादुर दम्पतीको नाम नहटाई सनाखत नगराइएको दाबी गर्छन्।
महान्यायाधिवक्ताको कार्यालयले मुख्य योजनाकारहरूको कुनै प्रत्यक्ष संलग्नता नदेखिएको दाबी गरे पनि घटनालाई छताछुल्ल पार्ने थुप्रै अकाट्य प्रमाणहरू रहेका छन्। २०८२ कात्तिक २७ गते साँझ पत्रकार भण्डारीमाथि ज्यान मार्ने उद्देश्यले हमला भयो, ঠিক त्यसै दिन बिहान मात्रै दानबहादुर कार्कीले गृह मन्त्रालयमा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाएर पदभार ग्रहण गरेका थिए।

आक्रमण हुनुभन्दा दुई दिनअगाडि (कार्तिक २५ गते) मुख्य आक्रमणकारी उत्तरबहादुर वाइवा लगायतका व्यक्तिहरू बालुवाटारस्थित दानबहादुर कार्कीको घरमै पुगेका थिए। आइजिपीमा नियुक्त भएको खुसीयालीमा उनीहरूले कार्की दम्पतीलाई पुष्प गुच्छा र खादा लगाएर बधाई दिएका थिए। सोही भिडियो उत्तरबहादुर वाइवाले आफ्नो टिकटक आइडीमा पोस्ट गरेका थिए भने कार्कीको घरको सोफामा बसेका फोटोहरू समेत ‘दाजु–भाइ’ भन्दै सार्वजनिक गरिएका थिए।

आक्रमणपछि आक्रमणकारीहरूको जत्था ललितपुरको हरिसिद्धिस्थित ‘हरिसिद्धि फेमिली रिसोर्ट’ मा पुगी मदिरासहित भोज मनाइरहेको थियो। प्रहरी टोलीले पिछा गर्दै उक्त रिसोर्टमा छापा मारेर दियोजित ओली, उत्तरबहादुर वाइवा, किरण ताम्राकार, गौरव ओड, नरेश विक, आर्यन विश्वकर्मासहित १० जनालाई पक्राउ गरेको थियो। रिसोर्टमा खाएको खाना र मदिराको बिल दियोजित ओलीले ग्लोबल आईएमई बैङ्कको खाताबाट फोनपेमार्फत ८ हजार ८ सय ६० रुपैयाँ भुक्तानी गरेको प्रमाणमा देखिन्छ।

तर रातिको समयमा पक्राउ परेका १० मध्ये दियोजित ओलीसमेत ४ जनालाई तत्कालीन आइजिपी दानबहादुर कार्कीको ठाडो निर्देशनमा भ्यानबाटै बाहिरै छोडाइएको थियो। सामाजिक सञ्जालमा हालका प्रधानमन्त्री बालेन शाहको चर्को विरोध गर्ने र दानबहादुर कार्कीको पक्षमा खरो स्ट्याटस लेख्दै आएका ओली आपराधिक पृष्ठभूमिका व्यक्ति हुन्। दानबहादुर कार्कीसम्बन्धी समाचार प्रकाशन गर्ने मिडियालाई उनी धम्की दिनसमेत अघि सर्छन्।
पत्रकार भण्डारीले प्रयोग गर्दै आएका मोबाइल नम्बरहरू (९८५११९६६७६ र ९८५१२१२०००) को बीटीएस टावर लोकेसन र कल डिटेल रेकर्ड (सिडिआर) हरू प्रत्येक एक–एक घण्टामा झिकाएर उनको आवतजावत र हरेक व्यक्तिगत गतिविधिलाई गैर कानुनी रूपमा ट्र्याक गरिँदै आएको छ।
यो अवैध जासुसी कार्य प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रत्यक्ष निर्देशनमा उनका सचिवालयमा कार्यरत प्रहरी उपरीक्षक धर्मराज भण्डारीमार्फत नेपाल टेलिकमका कर्मचारी सानु भाइ पण्डितको सहयोगमा गराइएको भन्दै प्रधानमन्त्री कार्यालयमा समेत उजुरी परेको छ।
आक्रमणमा परि गम्भीर घाइते भएका भण्डारी विगत २ वर्षदेखि आफ्नो डेरा कोठासमेत छोडेर बसेका छन्। भण्डारीको दैनिक गतिविधि तथा शंखमूलस्थित डेरा र कार्यालय आसपास निगरानी गर्न प्रहरी प्रधान कार्यालयबाट विशेष टोली गठन गरी प्रहरी नायब उपरीक्षक राजन लामाको नेतृत्वमा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। यसका अतिरिक्त नेपाल प्रहरीको विशेष ब्युरो र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका कर्मचारीहरू समेत सोही अवैध निगरानीमा खटाइएको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी परेको छ।

तर, प्रधानमन्त्री कार्यालयले समेत कुनै सुनुवाइ गरेको छैन। महान्यायाधिवक्ताको कार्यालयको मुद्दा नचलाउने निर्णयविरुद्ध पत्रकार भण्डारीका तर्फबाट वारेस निश्चल पौडेलले सर्वोच्च अदालतमा उत्प्रेषणयुक्त रिट निवेदन दायर गरेका थिए।

उक्त निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले ‘२०८३ साल साउन २७ गते घटनासँग सम्बन्धित सिसिटिभी फुटेज, कल विवरण, सङ्कलित प्रमाण, बयान एवं प्रमाणका रूपमा प्रयोग हुन सक्ने वस्तु तथा कागजातहरू नष्ट, परिवर्तन वा लोप हुन सक्ने जोखिमलाई दृष्टिगत गर्दै तिनको यथास्थिति कायम राख्न’ अन्तरिम आदेश जारी गरिएको छ।

सर्वोच्च अदालतमा विचाराधीन यो मुद्दाको र सर्वोच्चबाट प्रमाण संरक्षणको आदेश जारी भइसकेको संवेदनशील अवस्थामा समेत प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफ्नो पदीय शक्तिको चरम दुरुपयोग गर्दै पीडित पत्रकार भण्डारीमाथि राज्य आतङ्क मच्चाइएको पीडित पत्रकारको आरोप छ। पीडित पत्रकार भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा औपचारिक रूपमा सुरक्षा र कारबाहीको माग गर्दै गम्भीर निवेदन दर्ता गराएका छन्।
प्रहरी महानिरीक्षक दानबहादुर कार्की कुनै समय प्रहरी प्रधान कार्यालयमै डिआइजी थिए। उनको भूमिका प्रवक्ताको थियो। तर, ‘शिलापत्र’ डटकममा कार्यरत एक पत्रकारले डिआइजी कार्कीकी श्रीमती नविना खत्री कार्कीले सहकारी ठगी, सङ्गठित अपराधलगायतका मुद्दाका एक अभियुक्तलाई सूचना चुहाएको भन्दै डिआइजी कार्की निकट एक व्यक्तिलाई सुनाइदिए। त्यही सुनेकै भरमा तत्कालीन डिआइजी कार्कीले ती पत्रकारलाई फोन गरे। फोनमा उनले २ घण्टाभित्र बालुवाटारस्थित कार्कीको निवासमा नआए प्रहरी पठाएर उठाउने धम्की दिए। सुरक्षा मामिलाबारे जानकारी नभएका ती पत्रकार निरीह भएर तत्कालीन डिआइजी कार्कीको निवासमा पुगे। त्यहाँ पीडित पत्रकार र उनका छोरा थिए।
छोराले मोबाइलमा अडियो रेकर्ड गर्न सक्छ भन्ने आशंकामा उनको मोबाइल खोसे। त्यति मात्रै होइन, ती पत्रकारलाई ‘पेस्तोल देखाएर मार्ने’ सम्मको धम्की दिएपछि उनी निरीह भएर ‘अब केही नबोल्ने सर्तमा त्यहाँ’बाट निस्किए। उनै पत्रकारमाथि भएको गालीगलौजको अडियो केही समयदेखि सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त अडियो आफ्नो भएको र आफूले आवेशमा आएर त्यसो बोलेको कार्कीले दियोपोस्टकर्मीलाई भेटेको बेला सुनाएका थिए। तर, ती पत्रकार भने महानिरीक्षक कार्कीले ज्यान लिने डरले मुख खोल्न समेत तयार छैनन्। दियो पोस्टको सम्पर्कमा आएका उनीमाथि भएको घटना विवरण सुनाए तर, नाम नखुलाउन अनुनय गरे। उनीसँग भएको अडियो संवाद दियोपोस्टसँग सुरक्षित छ।