
काठमाडौँ । मानिस आफूलाई संसारकै सर्वज्ञानी र सर्वश्रेष्ठ प्राणी ठान्छ । आफ्नै स्वार्थअनुकूल नियम र व्यवस्था निर्माण गर्छ अनि त्यसैको आडमा प्रकृति र अन्य प्राणीमाथि एकाधिकार जमाउँछ । तर, नाटक ‘भाग भेडा भाग’ले मानिस आफूले बनाएको त्यही व्यवस्थाभित्र ऊ कति खोक्रो र स्वार्थी बन्दै गएको छ भन्ने प्रश्न उठाएको छ ।
मानिस र जनावरहरूको एउटा काल्पनिक संसारमार्फत समकालीन समाज, राजनीतिक प्रवृत्ति र प्रणालीभित्र मौलाएको स्वार्थमाथि व्यङ्ग्य गर्ने प्रयास हो यो नाटक । यहाँ जनावरहरू केवल मानिसका मनोरञ्जनका पात्र होइनन्, बरु मानिसले निर्माण गरेको व्यवस्था र त्यसको चरित्रलाई नियाल्ने दृष्टि हुन् । नाटकमा कहिले जनावरहरू मानिसजस्ता देखिन्छन् त कहिले मानिसहरू जनावरभन्दा निकृष्ट लाग्छन् ।
लेखक तथा निर्देशक संयोग गुरागाईंको परिकल्पनामा तयार भएको ‘भाग भेडा भाग’ केही दिनयता राजधानीस्थित थापागाउँमा रहेको मण्डला थियटरमा मञ्चन भइरहेको छ । यो अतियथार्थवादी शैलीको नाटक हो । मानिस र जनावरलाई एउटै काल्पनिक संसारमा उभ्याएर कथा भनिएको यस नाटकले शक्ति, स्वार्थ, स्वतन्त्रता र अस्तित्वको प्रश्नलाई रोचक ढङ्गले उठाएको छ ।
नाटकको कथामा मानिसले आफ्नो स्वार्थअनुकूल बनाएको व्यवस्थाभित्र जनावरहरू बन्दी छन् । उनीहरूका लागि निर्माण गरिएका नियम र संरचनासमेत मानिसकै स्वार्थ पूरा गर्ने माध्यम बनेका छन् । व्यवस्थाको संरक्षण गर्नुपर्नेहरू नै त्यसलाई भित्रभित्रै खोक्रो बनाइरहेका छन् । यस्तो अवस्थामा खोरभित्रका निर्दोष प्राणीहरू आफ्नै अस्तित्वको खोजीमा निस्किन थाले भने के हुन्छ? यही कल्पनालाई नाटकले मञ्चमा उतारेको छ ।
परम्परागत कथावाचनभन्दा फरक प्रयोग:
गुरागाईंका अनुसार ‘भाग भेडा भाग’ परम्परागत नाट्य प्रस्तुतिभन्दा केही फरक स्वाद दिने प्रयासको उपज हो । यसअघि उनले तयार गरेका ‘अतिरञ्जित मनोरञ्जन’ अतियथार्थवादी शैलीको थियो । यसपटक भने केही अप्रत्यक्ष कथावाचनको प्रयोग गर्दै फरक शैलीमा कथा भन्ने प्रयास गरिएको उनी बताउँछन् ।
मानिस र जनावरलाई एउटै संसारमा राखेर कथा भनियो भने कस्तो दृश्य निर्माण होला भन्ने कल्पनाबाट नाटककार गुरागाईंले नाटकलाई जन्म दिएका छन् । नाटकलाई एउटै कथा, एउटै लय वा निश्चित अर्थभित्र सीमित राख्न नचाहेको उनी बताउँछन् ।
‘एउटै मात्रै कथाभित्र अथवा एउटै लयभित्र नाटक नफँसोस् भन्ने लागेर यो नाटक जन्मिएको हो,’ गुरागाईं भन्छन्, ‘दर्शकले आफ्नो हिसाबले बुझेर धेरै कुरा लिएर जान सकून् भन्ने मेरो चाहना हो ।’ उनका लागि नाटकको विशेषता नै दर्शकलाई एउटै निष्कर्षमा पुर्याउनुको सट्टा विभिन्न कोणबाट सोच्ने ठाउँ दिनु हो ।
भेडाको आँखाबाट मानिसलाई हेर्दा:
‘भाग भेडा भाग’को शीर्षकले राजनीतिक दलका कार्यकर्ता वा आम नेपालीलाई भेडाको संज्ञा दिने गरिएपनि निर्देशक गुरागाईं नाटकलाई कुनै एउटा राजनीतिक दल वा समूहप्रतिको प्रत्यक्ष व्यङ्ग्यका रूपमा मात्र बुझ्न नहुने बताउँछन् ।
उनका अनुसार मानिसको आँखाबाट जनावरलाई हेर्दा र जनावरको आँखाबाट मानिसलाई हेर्दा देखिने संसार फरक हुन सक्छ । जनावरहरू मानिस बन्न खोजे भने के होलारु मानिसहरू जनावरजस्तै भए भने कस्तो अवस्था आउला? यही कल्पनाले नाटकको कथालाई अघि बढाएको छ ।
नाटकमा मैना, स्याल, कुकुर र भेडाका आआफ्नै कथा छन् । मानिसबाट पीडित भएर सर्कसमा पुगेकी मैनाको कथा होस् वा स्यालको समूह छाडेर मानिससँग बस्न गएको कुकुरको कथा, यी पात्रका माध्यमबाट मानिस र जनावरबीचको सम्बन्धलाई फरक ढङ्गले प्रस्तुत गरिएको छ ।
निर्देशकका अनुसार जनावरका पात्रहरूमा समयसँगै परिवर्तन देखिन्छ, तर मानिसको स्वभाव भने उस्तै रहन्छ । मानिसले अरूको कमजोरी थाहा पाए त्यसलाई सुधार्न वा उजागर गर्नुभन्दा आफ्नो स्वार्थ पूरा गर्ने माध्यम बनाउने प्रवृत्तिमाथि पनि नाटकले प्रश्न गरेको छ ।
‘मलाई अरूको कमजोरी थाहा भयो भने त्यो कमजोरी उजागर गर्नेतिर लाग्दिनँ । त्यही कमजोरीलाई स्वार्थ बनाउने, व्यापार बनाउनेतिर लाग्छु,’ निर्देशक गुरागाईंको भनाइ छ । यही प्रवृत्तिले मानिसलाई आफ्नो स्वार्थको घेराभित्र कैद गरेको उनको बुझाइ छ ।
व्यवस्थाको नाममा स्वार्थको व्यापार:
नाटकलाई नेपालको राजनीतिक परिवेशसँग जोडेर हेर्न सकिन्छ । गरिब जनताको विकासका नाममा निर्माण हुने योजना, प्रणालीभित्रका कमजोरी र त्यही प्रणालीबाट लाभ लिनेहरूको स्वार्थ नाटकका व्यङ्ग्यात्मक पक्ष हुन् ।
यद्यपि राज्यसत्ताको प्रणाली र त्यसका छिद्रहरूको दुरुपयोगलाई नाटकमा उतार्न खोजेको , गुरागाईं बताउँछन् । उनका अनुसार कुनै प्रणालीले नागरिकलाई लाभ पुर्याउनुपर्ने हो । तर, त्यही प्रणालीभित्र रहेका विभिन्न कमजोरी र छिद्रको प्रयोग गरेर व्यक्तिहरूले कसरी आफ्नो स्वार्थ पूरा गरिरहेका छन् भन्ने विषय नाटकको मुख्य चासो हो ।
मानिस कुनै न कुनै परिस्थिति, समय, सामाजिक परिवेश वा सम्बन्धको प्रभावमा बाँधिएको उनी बताउँछन् ।
स्वतन्त्रताको खोजीमा भेडाहरू:
नाटकको अन्त्यतिर भेडाहरू आफ्नो अस्तित्व खोज्दै खोरबाट बाहिरिन्छन् । उनीहरू कहाँ पुग्छन् भन्ने कुरा भने दर्शकका लागि खुला छाडिएको छ । गुरागाईंका अनुसार जनावरहरूको प्राकृतिक घर प्रकृति नै हो । मानिसले आफ्नो स्वार्थअनुसार जनावरलाई प्रयोग गर्दै आएको छ । कतिसम्म भने जनावरकै नाममा छुट्याइएको अनुदानसमेत मानिसले आफ्नो स्वार्थमा प्रयोग गर्न सक्ने अवस्था नाटकले देखाउन खोजेको छ ।
भाग्नु भेडाहरूको स्वतन्त्रताको यात्रा हो । उनीहरू कहाँ पुगे वा पुगेनन् भन्नेभन्दा पनि मानिसको बन्धनबाट मुक्त भएर आफ्नो अस्तित्वको खोजीमा निस्कनु महत्त्वपूर्ण रहेको निर्देशक बताउँछन् ।
‘मेरो लागि मान्छेको समूहबाट जनावरको समूह स्वतन्त्र हुनु जरुरी थियो । उनीहरू स्वतन्त्र भएको देखाउनु नाटकको बलियो पक्ष हो,’ उनी भन्छन् । तर, कथा अन्ततः फेरि मानिसमै फर्किन्छ । किनकि नाटकको मूल प्रश्न मानिसको चरित्र र उसले निर्माण गरेको व्यवस्थासँग जोडिएको छ ।
निर्देशक गुरागाईंका लागि नाटकको पहिलो उद्देश्य दर्शकलाई मनोरञ्जन दिनु हो । डेढदेखि दुई घण्टासम्म दर्शकलाई नाटकले बाँधिराख्न सफल भएको उनी बताउँछन् ।
जनावरको दृष्टिकोणबाट नाटक हेर्ने दर्शकले स्वतन्त्रता, मानवता, पीडा र त्यागका विषय भेट्न सक्छन् । मानिसको दृष्टिकोणबाट हेर्नेले भने मानिसभित्रको धूर्तता र स्वार्थी प्रवृत्तिको प्रतिबिम्ब देख्न सक्छन् ।
‘यसले त ऐना मात्रै देखाउन खोजेको हो कि मान्छे कतिसम्म स्वार्थी हुन्छ,’ गुरागाईं भन्छन् । त्यसैले नाटक सकिएपछि दर्शकले आफैँलाई प्रश्न गरून् भन्ने उनको चाहना छ ।
मण्डला नाटक समूहअन्तर्गत सञ्चालित थिएटर ल्याबको २०औँ ब्याचको अन्तिम नाट्य प्रस्तुति हो ‘भाग भेडा भाग’। संयोग गुरागाईंको नेतृत्वमा तयार भएको यस प्रस्तुतिमा २० जना कलाकारले मञ्चमा अभिनय गरेका छन् । नयाँ कलाकारहरूको ऊर्जा र रङ्गमञ्चप्रतिको उत्साहलाई समेटेर फरक स्वादको कथा भन्ने प्रयास गरिएको निर्देशक गुरागाईं बताउँछन् ।
नाटकमा आकाश केसी, अनिता थापा, अंकित सिंह हमाल, अन्जु चौलागाईं, अर्मान श्रेष्ठ, असिका केसी, अस्मिता तामाङ, भुवन सिंह ठकुरी, विशाल राज, धिरज पहराई मगर, क्रिस बम, महेश गिरी, सबिन धामी, निखिला चापागाईं, प्राश बुढा क्षेत्री, प्रशंसा आचार्य, राजाराम गौतम, राजेश सेन्चुरी, सन्ध्या नेपाल र यश श्रेष्ठको अभिनय रहेको छ ।
नाटकको संगीत संयोजन महेन्द्र राज बाठाले गरेका छन् भने गीत संयोजन निकेश कालिकोटेको छ । संगीत परिचालन सबिना चौधरीले गरेकी छन् । प्रकाश तथा परिकल्पना उमेश तामाङको रहेको छ भने मञ्च परिकल्पना संयोग गुरागाईंले गरेका छन् । मञ्च निर्माण सुनिल राई तथा साथीहरूले गरेका हुन् । कोरियोग्राफी राजेश सेन्चुरीको रहेको छ ।
नाटकको प्रदर्शन अवधि सीमित रहेको बताउँदै निर्देशक गुरागाईंले दर्शकलाई नाटक हेर्न आग्रह गरेका छन् । ‘तपाईं मान्छे हो कि भेडा हो भनेर थाहा पाउनलाई मात्रै भए पनि नाटक हेर्न आउनुहोस्,’ उनले भने ।
‘भाग भेडा भाग’ केवल खोरबाट भागेका भेडाहरूको कथा होइन । यो मानिसले आफैँ निर्माण गरेको व्यवस्था, त्यसप्रतिको निर्भरता र स्वार्थको बन्धनबाट बाहिर निस्कन नसकेको अवस्थाको कथा पनि हो । नाटकले आफ्नो अस्तित्व र स्वतन्त्रता खोज्ने भेडा बन्ने कि अरूको स्वार्थअनुसार चल्ने मानिस बन्ने? भनेर सोँच्न बाध्य बनाएको छ ।
नाटक हेरेर फर्किंदा दर्शकको मनमा सबैभन्दा लामो समयसम्म रहने प्रश्न यही हुनेछ-तपाईं मान्छे हो कि भेडा?













