‘मुरासु’ चक्रवातको असर नपरे पनि पश्चिमी वायुको प्रभाव कायमै, आगामी दिनमा वायु प्रदूषण बढ्न सक्ने

दियोपोस्ट संवाददाता

काठमाडौँ । बंगालको खाडीमा ‘अर्नब’ चक्रवातको प्रभाव हटेसँगै अर्को चक्रवात ‘मुरासु’ बनेको छ । तर, अहिलेसम्मको पूर्वानुमानअनुसार ‘मुरासु’ चक्रवात नेपालतर्फ आउने वा यसको प्रभावले नेपालमा वर्षा गराउने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा जल तथा मौसमविद् डा.विनोद पोखरेलका अनुसार नेपालमा पश्चिमी वायुको हल्का प्रभाव भने अझै बाँकी छ । त्यसैले आज पनि पश्चिम नेपालका केही स्थानमा हल्का वर्षा हुन सक्ने उनले बताए । यस्तो वर्षा ‘मुरासु’ चक्रवातको प्रभावले नभई पश्चिमी वायुका कारण हुने उनको भनाइ छ ।

वर्षा रोकिएसँगै उत्तरपश्चिम भारतका विभिन्न क्षेत्रमा पराल जलाउँदा निस्कने धुवाँ देखिन थालेको छ । अहिले नेपालको हावा तुलनात्मक रूपमा सफा रहे पनि हावाको बहाव नेपालतर्फ भएमा भारतमा पराल जलाउँदा निस्कने धुवाँसँगै प्रदूषित हावा भित्रिन सक्ने पोखरेलले बताए ।

भारतबाट प्रदूषित हावा नेपाल भित्रिएमा आगामी दिनमा वायु प्रदूषण बढ्न सक्ने उनको भनाइ छ ।

सिफारिस