धरानमा गोली चल्यो, २१० किलो गाँजासहित पाँच जना पक्राउ

दियोपोस्ट संवाददाता

धरान । सुनसरीको धरान उपमहानगरपालिका-२० स्थित च्यानडाँडाबाट करिब २१० किलो गाँजासहित पाँच जना पक्राउ परेका छन् । गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले सोमबार बिहान करिब ३ बजे हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका-१० का २४ वर्षीय रामसागरकुमार यादव, राजगढ गाउँपालिका-१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारतको बिहारस्थित मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरीको छिन्नमस्ता गाउँपालिका-६ का ५९ वर्षीय राजकुमार शाह र धरान उपमहानगरपालिका-११ का २१ वर्षीय अमृत बिशुङ्खे रहेका छन् ।

प्रहरीका अनुसार रामसागर बा.१ च ५०३८ नम्बरको जिपका चालक हुन् भने राजकुमार को.१ च ८१८२ नम्बरको जिपका चालक हुन् ।

प्रहरीका अनुसार बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरका दुईवटा जिपमा गाँजा लोड भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली उक्त स्थानमा पुगेको थियो । सो क्रममा जिपमा खानतलासी गर्दा आठवटा पोकामा राखिएको करिब २१० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद गाँजासहित पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर