एनपीएलमा आज दुई खेल हुँदै, काठमाडौँ पहिलो जितको खोजीमा

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई रोमाञ्चक खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौँ गोर्खाज र कर्णाली याक्स आमनेसामने हुनेछन् भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ।

आजको पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ भने दोस्रो खेल साँझ ५ बजे हुनेछ ।

प्रतियोगितामा हालसम्म जितविहीन रहेको काठमाडौँ गोर्खाज पहिलो जितको लक्ष्यसहित मैदान उत्रिनेछ । पहिलो खेलमा काठमाडौं जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । यता, उत्कृष्ट लयमा रहेको कर्णाली याक्स भने लगातार तेस्रो जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानलाई थप मजबुत बनाउने योजनामा हुनेछ ।

कर्णालीले यसअघि खेलेका दुवै खेलमा जित हात पारेको छ । उसले जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई पराजित गर्दै प्रतियोगितामा आफ्नो बलियो उपस्थिति देखाइसकेको छ ।

आजको दोस्रो खेल सुदूरपश्चिम रोयल्सका लागि पनि महत्त्वपूर्ण हुनेछ । तीन खेल खेलेको सुदूरपश्चिमले हालसम्म एक खेलमा जित र दुई खेलमा हार बेहोरेको छ । त्यसैले प्रतियोगितामा आफ्नो स्थिति सुधार गर्न टोलीलाई आजको खेलमा जित आवश्यक देखिन्छ ।

अर्कोतर्फ, चितवन राइनोज भने हालसम्म अपराजित छ । पहिलो खेलमा जित निकालेको चितवनको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले अंक बाँडेका थिए । अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यसहित चितवन आज सुदूरपश्चिमविरुद्ध मैदानमा उत्रनेछ ।

सम्बन्धित खबर