
काठमाडौँ । नेपालको बुद्ध जन्मस्थल लुम्बिनी र भारतको प्रसिद्ध समुद्री पर्यटकीय गन्तव्य गोवालाई एउटै पर्यटन सर्किटमा जोड्ने प्रस्ताव अघि सारिएको छ । नेपाल र भारतबीच पर्यटन प्रवर्द्धन, हवाई सम्पर्क विस्तार तथा संयुक्त लगानीका सम्भावना बढाउने उद्देश्यले नेपाली व्यावसायिक प्रतिनिधिमण्डलले गोवा सरकारसमक्ष यस्तो प्रस्ताव राखेको हो।
भारतको गोवामा अक्टोबर २९ देखि ३१ सम्म आयोजित ‘भाइब्रेन्ट गोवा ग्लोबल बिजनेस समिट-२०२६’ मा सहभागी नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेल नेतृत्वको १९ सदस्यीय प्रतिनिधिमण्डलले गोवाका मुख्यमन्त्री डा.प्रमोद सावन्तसँग भेटवार्ता गर्दै लुम्बिनी-गोवा पर्यटन सर्किट विकास, भैरहवा-गोवा सीधा हवाई सम्पर्क र पर्यटन तथा सेवामूलक उद्योगमा संयुक्त लगानीको प्रस्ताव राखेको हो।
भेटका क्रममा मुख्यमन्त्री सावन्तले नेपाल र गोवाबीच पर्यटन तथा व्यावसायिक साझेदारी विस्तार गर्ने सम्भावनाप्रति सकारात्मक धारणा राख्दै सहकार्यका कार्यक्रम अघि बढाउन सकिने बताएका थिए ।
नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई पर्यटन र व्यापारमार्फत थप विस्तार गर्न सकिने विषयमा छलफल भएको अध्यक्ष पोखरेलले जानकारी दिए ।
नेपाली प्रतिनिधिमण्डलले बुद्ध जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रिय महत्त्व र गोवाको स्थापित पर्यटकीय पहिचानलाई जोडेर दुवै गन्तव्य लाभान्वित हुने कार्यक्रम बनाउनुपर्नेमा जोड दिएको थियो। त्यसका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उपयोग, हवाई सम्पर्क विस्तार, संयुक्त पर्यटन प्रवर्द्धन तथा होटल र आतिथ्य क्षेत्रमा सहकार्य गर्न प्रस्ताव गरिएको हो।
गोवा समुद्री तट, मनोरञ्जन र बिदा मनाउने पर्यटनका लागि प्रसिद्ध छ भने लुम्बिनी बौद्ध धर्मावलम्बी, शान्तिप्रेमी तथा सांस्कृतिक पर्यटकको प्रमुख गन्तव्य हो। यी दुई फरक विशेषताका गन्तव्यलाई एउटै भ्रमण प्याकेजमा समेट्न सके पर्यटकको बसाइ अवधि बढाउनुका साथै नयाँ पर्यटन बजार विस्तार गर्न सकिने अपेक्षा गरिएको छ।
सन् २०२५ मा लुम्बिनी पुगे ११ लाखभन्दा बढी पर्यटक
लुम्बिनीको अन्तर्राष्ट्रिय महत्त्व र पर्यटकीय आकर्षणलाई गोवाको समुद्री पर्यटनसँग जोडेर नयाँ बहुगन्तव्य भ्रमण प्याकेज विकास गर्न सकिने सम्भावना छ।
लुम्बिनी विकास कोषको तथ्यांकअनुसार सन् २०२५ मा लुम्बिनीमा ११ लाख १४ हजार २६६ पर्यटक पुगेका थिए । तीमध्ये सात लाख दुई हजार ९१० नेपाली, दुई लाख ७० हजार ३८७ भारतीय र एक लाख ४० हजार ९६९ अन्य मुलुकका पर्यटक थिए ।
सन् २०२४ को तुलनामा कुल पर्यटक आगमन करिब ४ दशमलव ९५ प्रतिशत घटे पनि भारतबाहेकका विदेशी पर्यटकको आगमन २६ दशमलव ५४ प्रतिशतले बढेको थियो।

सन् २०२५ मा श्रीलंकाबाट ३२ हजार २८७, थाइल्यान्डबाट १९ हजार ८९१ र म्यानमारबाट १८ हजार ५२८ पर्यटक लुम्बिनी पुगेका थिए । यसले बौद्ध धर्मावलम्बी तथा अन्तर्राष्ट्रिय पर्यटकमाझ लुम्बिनीको आकर्षण कायम रहेको देखाउँछ।
लुम्बिनीको पर्यटन सम्भावना मायादेवी मन्दिर परिसरमा मात्रै सीमित छैन । तिलौराकोट-कपिलवस्तु, रामग्राम स्तूप तथा आसपासका बौद्ध पुरातात्त्विक क्षेत्रलाई समेटेर विस्तारित पर्यटन सर्किट विकास गर्न सकिन्छ । यस्ता गन्तव्यलाई गोवाको पर्यटनसँग जोड्न सके नेपाल आउने विदेशी पर्यटकलाई थप भ्रमण विकल्प उपलब्ध गराउन सकिनेछ।
पोखरा-गोवा साझेदारीको सम्भावना पनि खोजिँदै
गोवाका मुख्यमन्त्रीसँगको भेटमा नेपाली प्रतिनिधिमण्डलले पोखरा-गोवा पर्यटन साझेदारीको सम्भावनाबारे पनि प्रस्ताव राखेको थियो ।
नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखराको प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, तालतलैया तथा साहसिक पर्यटनलाई गोवाको समुद्री पर्यटनसँग जोडेर संयुक्त भ्रमण प्याकेज विकास गर्न सकिने विषयमा जोड दिइएको थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपयोगिता बढाउने उद्देश्यले पोखरा-गोवा सीधा हवाई सम्पर्क विस्तारको सम्भावनाबारे पनि ध्यानाकर्षण गराइएको थियो ।
त्यस्तै, भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गोवासम्म सीधा हवाई सेवा सञ्चालनको सम्भावनालाई पनि प्राथमिकतामा राखिएको छ।
सीधा उडान सञ्चालन भए गोवामा आउने अन्तर्राष्ट्रिय पर्यटकलाई लुम्बिनी भ्रमण गर्न तथा नेपालबाट गोवा जाने पर्यटकलाई सहज यात्रा सुविधा उपलब्ध गराउन सकिनेछ । यसबाट दुवै देशबीच पर्यटक आवागमन बढाउनुका साथै पर्यटन तथा व्यावसायिक गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यद्यपि, हवाई सेवा सञ्चालनका लागि सम्भावित यात्रु संख्या, व्यावसायिक माग, उडान अनुमति, विमान कम्पनीको रुचि र सञ्चालन खर्चलगायत पक्षको अध्ययन आवश्यक हुनेछ।
पर्यटनसँगै संयुक्त लगानीमा जोड
प्रतिनिधिमण्डलले पर्यटनका अतिरिक्त होटल, आतिथ्य सेवा र अन्य सेवामूलक उद्योगमा संयुक्त लगानी बढाउन पनि प्रस्ताव गरेको छ । व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, लगानी प्रवर्द्धन तथा निजी क्षेत्रबीच व्यावसायिक साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिइएको थियो ।
पर्यटन सर्किटलाई व्यवहारमा उतार्न नेपाल र भारतका ट्राभल तथा टुर अपरेटरबीच संयुक्त प्याकेज निर्माण, डिजिटल प्रचारप्रसार, पर्यटन मेलामा सहकार्य र होटल व्यवसायीबीच साझेदारी आवश्यक देखिन्छ ।
धार्मिक पर्यटनसँगै योग, ध्यान, स्वास्थ्य तथा सम्मेलन पर्यटनलाई पनि संयुक्त प्याकेजमा समावेश गर्न सकिने सम्भावना छ । यसबाट लुम्बिनी क्षेत्रका होटल, रेस्टुरेन्ट, यातायात, ट्राभल एजेन्सी, स्थानीय उत्पादन तथा साना उद्यममा आर्थिक गतिविधि बढाउन सकिने अपेक्षा गरिएको छ।
लगानी र रोजगारी विस्तारमा गोवाको जोड
गोवाको डा। श्यामाप्रसाद मुखर्जी इन्डोर स्टेडियममा आयोजित तीनदिने ‘भाइब्रेन्ट गोवा ग्लोबल बिजनेस समिट-२०२६’ मा विभिन्न मुलुकका उद्योगी, लगानीकर्ता, व्यावसायिक नेतृत्व तथा नीति निर्माण तहका प्रतिनिधि सहभागी भएका थिए ।
सम्मेलनका क्रममा नेपाली टोलीले अन्तर्राष्ट्रिय व्यावसायिक सञ्जाल विस्तार, पर्यटन प्रवर्द्धन र लगानीका सम्भावनाबारे विभिन्न पक्षसँग छलफल गरेको चेम्बरले जनाएको छ ।

मुख्यमन्त्री सावन्तले गोवालाई लगानीमैत्री तथा व्यावसायिक गतिविधिका लागि सहज गन्तव्य बनाउने राज्य सरकारको प्राथमिकता रहेको बताएका थिए। वातावरणमैत्री उद्योग, नवीन प्रविधि, अनुसन्धान तथा उद्यमशीलताको विकासमार्फत अन्तर्राष्ट्रिय लगानी र व्यावसायिक सहकार्य विस्तार गर्ने नीति अघि सारिएको उनले जानकारी दिएका थिए ।
गोवा सरकारले २० हजार करोड भारतीय रुपैयाँ बराबरको लगानी आकर्षित गर्ने र ३० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ।
सम्मेलनमा राज्यसभा सदस्य सदानन्द शेट तानावडे, भारतका पूर्वकेन्द्रीय मन्त्री सुरेश प्रभु तथा भाइब्रेन्ट गोवाका अध्यक्ष राजकुमार कामतलगायत विभिन्न क्षेत्रका व्यावसायिक व्यक्तित्वहरूको उपस्थिति रहेको चेम्बरका लुम्बिनी प्रदेश सचिव प्रदीप आचार्यले जानकारी दिए।
कार्यान्वयन मुख्य चुनौती
लुम्बिनी-गोवा पर्यटन सर्किटको प्रस्तावले नेपाल र भारतबीचको पर्यटन सम्बन्धलाई नयाँ व्यावसायिक आयाम दिन सक्ने सम्भावना देखिए पनि यसको उपलब्धि कार्यान्वयनमा निर्भर रहनेछ।
विशेषगरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटकमैत्री पूर्वाधार निर्माण, सहज यातायात, गुणस्तरीय होटल सेवा र निजी क्षेत्रको लगानी आकर्षित गर्नु महत्त्वपूर्ण हुनेछ।
लुम्बिनी आउने पर्यटकको बसाइ अवधि बढाउन कपिलवस्तु, नवलपरासी र रुपन्देहीका ऐतिहासिक तथा सांस्कृतिक गन्तव्यलाई समेटेर एकीकृत पर्यटन योजना बनाउनुपर्ने देखिन्छ । यसबाट पर्यटनको आर्थिक लाभ स्थानीय समुदायसम्म पुर्याउन सकिनेछ।
गोवाको अन्तर्राष्ट्रिय पर्यटन बजारसँग लुम्बिनीलाई जोड्दा बौद्ध तीर्थयात्रामा रुचि राख्ने पर्यटक र समुद्री पर्यटनमा आकर्षित यात्रुका लागि नयाँ भ्रमण विकल्प उपलब्ध हुन सक्छ ।
तर मुख्यमन्त्रीसँग भएको सकारात्मक छलफललाई औपचारिक सहमति, ठोस कार्ययोजना र व्यावसायिक साझेदारीमा रूपान्तरण गर्नु अबको मुख्य चुनौती हुनेछ । लुम्बिनी र गोवाबीचको प्रस्तावित सहकार्य कार्यान्वयनमा आए नेपाल-भारत पर्यटन साझेदारी विस्तार हुनुका साथै दुवै क्षेत्रको पर्यटन र स्थानीय अर्थतन्त्रमा समेत लाभ पुग्ने अपेक्षा गरिएको छ ।