बाँकेको अम्बे स्टिलमा आगलागी, ८ जना घाइते

दियोपोस्ट संवाददाता

बाँके । बाँकेको जानकी गाउँपालिका-५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा आठ जना घाइते भएका छन् । आइतबार बिहान करिब ५ः४० बजे विद्युत् सर्ट सर्किट भएर कम्पनीभित्र आगलागी भएको हो ।

आगलागीमा परी घाइते हुनेमा बाँकेका पाँच जना र भारतको बहराइच जिल्लाका तीन जना रहेका छन् । घाइते सबैलाई उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको थियो । तीमध्ये बाँकेका शिवप्रसाद चमार र रामदिन हरिजनलाई थप उपचारका लागि बिहान ८ः४५ बजे भारतको लखनउ रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइते हुनेमा जानकी गाउँपालिका-५ का २८ वर्षीय शिवप्रसाद चमार, २२ वर्षीय रामदिन हरिजन, २४ वर्षीय प्रेम धोबी, २९ वर्षीय दिलीपकुमार यादव र ३५ वर्षीय लक्ष्मीराम यादव रहेका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ ।

त्यस्तै, भारतको बहराइच जिल्लाको कठौतियाका २९ वर्षीय राजकुमार, २४ वर्षीय नशिवकुमार निषाद र २५ वर्षीय विनोदकुमार निषाद पनि घाइते भएका छन् ।

आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको कमान्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाका दुई र कोहलपुर नगरपालिकाको एक दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा आगो बिहानै पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।

कम्पनीभित्र फलाम पगाल्ने २५ टन क्षमताका तीनवटा भट्टीमध्ये आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको अन्य क्षतिको विवरण भने खुल्न बाँकी रहेको छ ।

सम्बन्धित खबर

सिफारिस