पृथ्वी राजमार्ग सोमबार दिउँसो तीन घण्टा बन्द हुने

दियोपोस्ट संवाददाता

काठमाडौँ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-९ मझिमटारस्थित पृथ्वी राजमार्ग सोमबार तीन घण्टा सवारी आवागमनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ ।

आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उक्त सडक खण्डमा सम्पूर्ण सवारी साधनको आवागमन बन्द गरिने भएको हो ।

जिल्ला प्रशासन कार्यालय धादिङले आइतबार सूचना जारी गर्दै निर्माण कार्यका क्रममा उक्त सडक खण्ड भएर हुने सवारी आवागमन पूर्ण रूपमा बन्द रहने जनाएको छ ।

प्रशासनले सो अवधिमा वैकल्पिक मार्ग प्रयोग गरी सवारी साधन सञ्चालन गर्न तथा गराउन अनुरोध गरेको छ । साथै, सवारी चालक तथा सडक प्रयोगकर्तालाई प्रचलित ट्राफिक नियम र सडक अनुशासनको पूर्ण पालना गर्न पनि आग्रह गरेको छ ।