
काठमाडौँ । करिब ४८ घण्टासम्म लगातार परेको वर्षा रोकिएसँगै देशका धेरै ठाउँमा मौसममा सुधार आएको छ । गए राति पनि केही स्थानमा छिटपुट वर्षा भए पनि अहिले अधिकांश क्षेत्रमा वर्षा रोकिएको हो ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा जल तथा मौसमविद् डा. विनोद पोखरेलका अनुसार पछिल्लो वर्षाका क्रममा नेपालका धेरै ठाउँमा ८० देखि १३० मिलिमिटरसम्म वर्षा भएको छ । यस अवधिमा ललितपुरमा करिब १३० मिलिमिटर र काठमाडौँमा ८० देखि १०० मिलिमिटरसम्म वर्षा भएको उनले बताएका छन् ।
यसैबीच, बंगालको खाडीमा अर्को मौसमी प्रणाली विकसित भएको छ । यद्यपि, हालको पूर्वानुमानअनुसार उक्त प्रणाली नेपालतर्फ आउने सम्भावना न्यून रहेको मौसमविद् पोखरेलले बताएका छन् ।
उनका अनुसार धान काट्ने तयारीमा रहेका किसानले स्थानीय मौसमको अवस्था हेरेर कृषि कार्य सुरु गर्न सक्छन् । आगामी दुईदेखि तीन दिनसम्म दिउँसो पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहे पनि धान काट्ने काम रोक्नुपर्ने अवस्था देखिँदैन । तर, काटिसकेको धान सुरक्षित राख्ने व्यवस्था गर्न उनले आग्रह गरेका छन् ।
तराई क्षेत्रमा भने वर्षाको सम्भावना खासै नरहेको उनले बताएका छन् । किसानले आफ्नो क्षेत्रको मौसमको अवस्था र पछिल्ला पूर्वानुमानलाई ध्यानमा राखेर कृषि कार्यको योजना बनाउनुपर्ने उनको सुझाव छ ।
पछिल्ला वर्षहरूमा असोज–कात्तिकमा लामो समयसम्म झरी पर्ने क्रम दोहोरिनुले मौसमसम्बन्धी पूर्वतयारी मनसुनका महिनामा मात्रै सीमित राख्न नहुने देखाएको पोखरेलले बताएका छन् ।
कृषि, यात्रा तथा विपद् व्यवस्थापनका योजना बनाउँदा मनसुन सकिएपछिको वर्षालाई समेत ध्यान दिनुपर्ने आवश्यकता रहेको उनले औँल्याएका छन् ।