
काठमाडौँ । ‘अर्नब’ चक्रवातको प्रभाव हटेसँगै नेपालमा मौसम क्रमिक रूपमा सुधार हुन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अबका दिनमा देशभरको मौसम थप सफा र घमाइलो हुँदै जानेछ ।
महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक र सुर्खेतका एक-दुई स्थानमा छिटपुट वर्षा भए पनि अन्यत्र ठूलो पानी परेको छैन।
आइतबार बिहान तराईका भूभाग तथा काठमाडौँ र पोखरालगायतका उपत्यकामा बाक्लो हुस्सु र कुहिरो लागेको थियो। यद्यपि, घाम लागेसँगै हुस्सु र कुहिरो क्रमशः हट्दै गएको छ । लुम्बिनी प्रदेशको तराई क्षेत्रमा लागेको हुस्सु पनि छिट्टै हट्ने महाशाखाले जनाएको छ।
आइतबार दिउँसो देशका पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने भए पनि समग्रमा मौसम सफा रहने पूर्वानुमान छ । हिमाली र पहाडी भूभागका थोरै स्थानमा सामान्य वर्षा तथा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
आइतबार राति पूर्वी भूभागको मौसम थप सफा हुँदै जानेछ भने पश्चिमी भूभागका थोरै स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ । अन्य भूभागमा भने मौसम सामान्यतया सफा रहनेछ ।
सोमबार पनि देशभरको मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान छ । बिहान तराई, उपत्यका र खोँचहरूमा हुस्सु लागे पनि आइतबारको तुलनामा कम हुने र छिट्टै हट्ने सम्भावना छ।
सोमबार दिउँसो हिमाली, पहाडी तथा लुम्बिनी प्रदेशको तराईका एक-दुई स्थानमा छिटपुट वर्षा हुन सक्ने भए पनि साँझदेखि मौसममा थप सुधार आउने र घाम लाग्ने महाशाखाले जनाएको छ।
चक्रवातको प्रभाव हटेसँगै महाशाखाले आगामी पाँच दिनका लागि हरियो रङको चेतावनी जारी गरेको छ । यसले मौसमका कारण हुन सक्ने प्रतिकूल प्रभावको जोखिम कम रहेको संकेत गर्छ।