विराटनगरमा शंकास्पद वस्तु पड्किँदा ससुरा-बुहारी घाइते

दियोपोस्ट संवाददाता

काठमाडौँ । मोरङको विराटनगरमा फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु पड्किँदा दुई जना घाइते भएका छन् ।

आइतबार बिहान विराटनगर महानगरपालिका-१५ स्थित जुटमिल पछाडिको खाली जमिनमा फोहोर सफा गर्ने क्रममा पुरानो सकेट बमजस्तो देखिने वस्तु पड्किँदा ससुरा-बुहारी घाइते भएका हुन् ।

प्रहरीका अनुसार घटनामा विराटनगर-१५ निवासी ४० वर्षीया नजवा खातुन र उनका ६५ वर्षीय ससुरा हैदर अली घाइते भएका छन् । विस्फोटबाट नजवाको दुवै हात र छातीमा सामान्य चोट लागेको छ भने हैदरको बायाँ हात र दाहिने खुट्टामा चोट लागेको छ ।

घटनालगत्तै सीमा प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले घाइते दुवै जनाको उद्धार गरी उपचारका लागि स्थानीय जितु मेडिकल पठाएको थियो । प्रहरीका अनुसार दुवै जनाको अवस्था सामान्य छ ।

प्रारम्भिक अनुमानअनुसार जमिनमा पहिलेदेखि नै गाडिएर रहेको पुरानो सकेट बमजस्तो वस्तु फोहोर सफा गर्ने क्रममा चलाउँदा विस्फोट भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।