
काठमाडौँ । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले सवारी आवागमन व्यवस्थापन र यात्रुको सुरक्षाका लागि विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । चाडपर्वका समयमा यात्रुको चाप बढ्ने, लामो दूरीका सवारीसाधनको आवागमन बाक्लिने तथा धार्मिकस्थल र पूजास्थलमा श्रद्धालुको भीड बढ्ने भएकाले ट्राफिक प्रहरीले निगरानी र चेकजाँचलाई तीव्रता दिएको हो ।
चाडपर्वका समयमा यात्रुले भोग्नुपर्ने समस्या समाधान तथा सुरक्षित यात्राको व्यवस्था मिलाउन उपत्यकाका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । दसैँ–तिहारलाई लक्षित गरी सञ्चालनमा ल्याइएका ती सहायता कक्ष छठ पर्वसम्म निरन्तर सञ्चालनमा रहने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी नरेशराज सुवेदीले जानकारी दिए ।
सहायता कक्षमार्फत यात्रुलाई आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउनुका साथै यात्राका क्रममा देखिने समस्या र गुनासो समाधानमा सहजीकरण गरिने प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको प्राविधिक अवस्थालाई विशेष प्राथमिकतामा राखेको छ । काठमाडौँका बसपार्क, भक्तपुरको जगाती र नागढुंगामा सवारीसाधनको यान्त्रिक परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।
प्रस्थान बिन्दुबाट गन्तव्यतर्फ पठाउनुअघि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको अनिवार्य प्राविधिक परीक्षण गरिने सुवेदीले बताए । यसका लागि प्रहरी प्रधान कार्यालयबाट खटिएको प्राविधिक टोली र ट्राफिक प्रहरी संयुक्त रूपमा परिचालन भएका छन् ।
परीक्षणका क्रममा सवारीसाधनको यान्त्रिक अवस्था, आवश्यक मर्मतसम्भार भए-नभएको तथा यात्राका लागि उपयुक्त भए–नभएको जाँच गरिने बताइएको छ । त्यस्तै, वातावरण विभागका प्राविधिक र ट्राफिक प्रहरीको संयुक्त टोलीले सार्वजनिक सवारीसाधनबाट हुने वायु प्रदूषणसमेत परीक्षण गर्नेछ ।
चाडपर्वका समयमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न चालक तथा सवारीसाधनमाथिको निगरानी पनि बढाइएको छ । क्षमताभन्दा बढी यात्रु वा सामान बोक्ने सवारीसाधनमाथि विभिन्न स्थानमा चेकजाँच गरिने प्रहरीले जनाएको छ ।
लामो दूरीका सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक हुनुपर्ने कानुनी व्यवस्थाको पालना भए-नभएको समेत परीक्षण गरिने बताइएको छ । चालकले मादक पदार्थ वा लागूपदार्थ सेवन गरेर सवारी चलाए-नचलाएको विषयमा नियमित जाँच भइरहेको छ ।
त्यसैगरी, तीव्र गतिमा सवारी चलाउने, अत्यधिक भार बोकेर सञ्चालन गर्ने तथा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई नियन्त्रण गर्न विभिन्न सडक खण्डमा निगरानी बढाइएको छ । सवारी आवागमनलाई सुरक्षित र व्यवस्थित बनाउन उपलब्ध प्रविधिको समेत प्रयोग गरिने प्रहरीले जनाएको छ ।
तिहारलगत्तै मनाइने छठ पर्वलाई लक्षित गरी ट्राफिक प्रहरीले छुट्टै व्यवस्थापन तथा सुरक्षा योजना पनि तयार पारेको छ । छठ पूजा आयोजना हुने स्थानहरूको पहिचान गरी ती क्षेत्रमा ट्राफिक प्रहरीसँगै सिभिल प्रहरी परिचालन गर्ने तयारी गरिएको छ ।
छठका अवसरमा नदी, पोखरी तथा अन्य जलाशय आसपास श्रद्धालुको भीड बढ्ने भएकाले ती क्षेत्रको सवारी आवागमन र पार्किङ व्यवस्थापनलाई विशेष प्राथमिकता दिइने सुवेदीले बताए ।
पूजास्थल आसपास सवारी पार्किङमा समस्या हुन नदिन, सडकमा अनावश्यक भीड हुन नदिन तथा आवागमन अवरुद्ध हुन नदिन आवश्यक जनशक्ति परिचालन गरिने उनको भनाई छ ।
सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाउन बडी वर्न क्यामेरा प्रयोग गर्ने तयारी गरिएको र आवश्यकताअनुसार ड्रोन परिचालन गरी सम्बन्धित क्षेत्रको सुरक्षा अवस्था र गतिविधिको अनुगमनसमेत गरिने उनले जानकारी दिए ।
चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन तथा सुरक्षा योजनाका लागि काठमाडौँ उपत्यकामा रहेका एक हजार छ सय ट्राफिक प्रहरी परिचालन गरिनेछ । ट्राफिक प्रहरीको जनशक्तिले मात्रै व्यवस्थापन गर्न कठिन हुने अवस्थामा जनपथ प्रहरी र सिभिल प्रहरीको समेत सहयोग लिइने सुवेदीले बताए । विभिन्न स्थानमा हुने चेकजाँच तथा निगरानीका लागि ट्राफिक प्रहरी र जनपथ प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।
चेकपोइन्टहरूमा संयुक्त प्रहरी टोली खटाइनुका साथै सडक दुर्घटना तथा आपत्कालीन अवस्थामा घाइतेको ज्यान बचाउन गरिने प्राथमिक उपचारसम्बन्धी कार्यमा समेत जनपथ र सिभिल प्रहरीको सहभागिता रहनेछ ।
चाडपर्वका समयमा यात्रुको आवागमन सहज बनाउनुका साथै समग्र यातायात प्रणालीलाई व्यवस्थित, मर्यादित, सुरक्षित र नागरिकमैत्री बनाउने उद्देश्यले विशेष योजना कार्यान्वयन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।