
काठमाडौँ । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै इलाममा आमरण अनशनमा बसेका वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत सोमबार बिहान उनलाई इलामबाट काठमाडौँ ल्याइएको हो ।
इलामको नारायणस्थान मन्दिर परिसरमा २५औँ पटक सत्याग्रह सुरु गरेका डा.केसीको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार राति इलाम अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको भए पनि स्वास्थ्य अवस्थामा थप जटिलता देखिएपछि उनलाई सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्ने निर्णय गरिएको हो ।
इलामबाट हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका केसीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका लागि लगिएको छ । उनका सहयोगी पवन थापाले थप उपचार आवश्यक देखिएकाले हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको जानकारी दिए ।
इलाम अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा डा. केसीको रगतमा ग्लुकोजको मात्रा अत्यधिक घटेको पाइएको थियो। उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उनको रगतमा ग्लुकोजको मात्रा घटेर प्रतिडेसिलिटर ३५ मिलिग्रामसम्म पुगेको थियो ।
टाइप–२ मधुमेहका बिरामीसमेत रहेका केसीको पिसाबमा एसिटोनको मात्रा बढेको, रक्तचाप १००र६० रहेको र मुटुको चालमा समेत अनियमितता देखिएको चिकित्सकहरूले बताएका छन् ।
चिकित्सकहरूका अनुसार रगतमा ग्लुकोजको मात्रा अत्यधिक कम हुँदा शरीरका महत्त्वपूर्ण अंगहरूको कार्यक्षमतामा असर पर्न सक्छ । विशेषगरी मस्तिष्क र मुटुको कार्यप्रणाली प्रभावित हुने जोखिम रहन्छ ।
स्वास्थ्य अवस्था बिग्रँदै गएपछि चिकित्सकहरूले उनलाई तत्काल आवश्यक उपचार लिन आग्रह गरेका थिए । शरीरमा तरल पदार्थ दिइए पनि उनले ग्लुकोज लिन अस्वीकार गरिरहेको उपचारमा संलग्न चिकित्सकहरूको भनाइ थियो ।
इलाम अस्पतालका चिकित्सक टोलीले आइतबार पत्रकार सम्मेलन गरी उनको स्वास्थ्य अवस्था गम्भीर रहेको जानकारी गराएको थियो। थप उपचारका लागि काठमाडौँ लैजान आवश्यक व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायलाई समेत आग्रह गरिएको थियो ।
यसैबीच, नेपाल चिकित्सक संघले पनि डा. केसीको स्वास्थ्य अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनको जीवन रक्षाका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेको थियो । संघले उनलाई सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गरी आवश्यक उपचारको व्यवस्था मिलाउन र उनले उठाएका माग सम्बोधन गर्न वार्ता प्रक्रिया अघि बढाउन आग्रह गरेको थियो ।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारका लागि लामो समयदेखि अभियान चलाउँदै आएका डा. केसीले सरकारसँग भएका विगतका सहमति कार्यान्वयन नभएको र चिकित्सा शिक्षा सञ्चालनमा न्यूनतम मापदण्डसमेत पालना नगरिएको भन्दै पुनः सत्याग्रह सुरु गरेका हुन् ।
उनले कात्तिक १२ गते साँझ इलामको नारायणस्थान मन्दिर परिसरमा २५औँ आमरण अनशन सुरु गरेका थिए । यसपटक उनको मुख्य असन्तुष्टि कैलालीस्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आवश्यक भौतिक पूर्वाधार, जनशक्ति र कानुनी मापदण्ड पूरा नगरी चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्न सिट निर्धारण गरिएको विषयमा केन्द्रित छ ।
चिकित्सा शिक्षा आयोगले उक्त विश्वविद्यालयअन्तर्गत एमबीबीएसका लागि ५०, बीएससी नर्सिङका लागि २०, मेडिकल ल्याबोरेटरी टेक्नोलोजीका लागि १० र बी अप्टोमेट्रीका लागि १० गरी कुल ९० सिट निर्धारण गरेको छ ।
आवश्यक पूर्वाधार र पूर्ण क्षमताको शिक्षण अस्पताल सञ्चालन नगरी शैक्षिक कार्यक्रम अघि बढाउँदा चिकित्सा शिक्षाको गुणस्तर प्रभावित हुने केसीको तर्क छ । उनले आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र कानुनी प्रक्रिया पूरा भएपछि मात्रै चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्ने माग राख्दै आएका छन् ।
के-के छन् डा. केसीका माग?
डा.केसीले यसपटक चिकित्सा शिक्षा, सार्वजनिक स्वास्थ्य सेवा, सुशासन र विगतका सहमति कार्यान्वयनसँग सम्बन्धित विभिन्न माग अघि सारेका छन् ।
उनका प्रमुख मागहरू निम्न छन्ः
१. आवश्यक पूर्वाधार, जनशक्ति र कानुनी मापदण्ड पूरा नगरी सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस तथा नर्सिङलगायतका कार्यक्रम सञ्चालन गर्न सिट निर्धारण गरिएको निर्णय खारेज गर्नुपर्ने ।
२. तोकिएको मापदण्ड पूरा नगरेका मेडिकल कलेजमा बढाइएका अतिरिक्त सिटको निर्णय खारेज गर्नुपर्ने ।
३. चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष तथा सम्बन्धित विश्वविद्यालयका पदाधिकारीहरूको नियुक्ति प्रक्रिया, शैक्षिक योग्यता, अनुभव र निर्णयमाथि निष्पक्ष छानबिन गर्नुपर्ने । छानबिन नसकिएसम्म सम्बन्धित पदाधिकारीलाई निलम्बन गरी दोषी देखिएकालाई कानुनी कारबाही गर्नुपर्ने ।
४. सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने र आवश्यक पूर्वाधार तथा जनशक्ति सुनिश्चित भएपछि मात्रै शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने ।
५. सरकारी तथा सार्वजनिक स्रोतबाट सञ्चालित स्वास्थ्य विज्ञानसम्बन्धी शिक्षण संस्थामा कम्तीमा ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने ।
६. सरकारसँग यसअघि भएका सहमतिहरू कार्यान्वयन गर्नुपर्ने । इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने प्रतिबद्धता पूरा गर्नुपर्ने तथा बर्दिवास मेडिकल कलेज निर्माण परियोजना अघि बढाउनुपर्ने ।
डा. केसीले यसअघि पनि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग राख्दै पटक-पटक आमरण अनशन बस्दै आएका छन् । उनका कतिपय अनशन सरकारसँग सहमति भएपछि टुंगिएका थिए ।
पछिल्लो पटक २०८३ साउन ११ गते सरकारसँग भएको सहमतिसमेत प्रभावकारी रूपमा कार्यान्वयन नभएको उनको आरोप छ । सहमति कार्यान्वयन गर्नुपर्ने समयमा सरकारले उल्टै चिकित्सा शिक्षाका न्यूनतम मापदण्ड पूरा नगरेका संस्थालाई कार्यक्रम सञ्चालन गर्न अनुमति दिने तथा सिट वृद्धि गर्ने निर्णय गरेको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।