
काठमाडौँ । सरकारले सञ्चालन गरेको करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत सामान खरिद गर्ने गौरीशंकर पण्डितले १० लाख रुपैयाँको उपहार जितेका छन् ।
धनुषाको नगराइन नगरपालिका-९, घोरघास घर भई हाल ललितपुरमा बस्दै आएका पण्डितले कात्तिक महिनाको पहिलो १५ दिनको अवधिमा सञ्चालन गरिएको कार्यक्रममा उक्त उपहार जितेका हुन् ।
अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा क्रिकेटरहरूले चिट्ठामार्फत विजेता घोषणा गरेका हुन् । कार्यक्रममा उपहार विजेताहरूको कुपन सार्वजनिक गरिएको थियो ।
यसैगरी, हरेक दिन एक जनालाई एक लाख रुपैयाँका दरले प्रदान गरिने प्रोत्साहन उपहारअन्तर्गत १५ जना उपभोक्ता पनि विजेता बनेका छन् ।
करदातालाई सामान खरिद गर्दा बिल लिने र बिक्री गर्दा बिल दिने बानीको विकास गराउनुका साथै समयमै कर तिर्न प्रोत्साहित गर्ने उद्देश्यले सरकारले यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ।