
काठमाडौँ । प्राविधिकका लागि बीएस-६ प्रविधिसम्बन्धी तालिम सुरु भएको छ । प्राविधिक जनशक्तिको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले टाटा गुरुका लागि बीएस-६ (भारत स्टेज-६) प्रविधिसम्बन्धी तालिम आजदेखि सुरु भएको हो ।
सिप्रदी अटोपार्ट्स प्रालि र सिप्रदियन सहायता संस्थाको संयुक्त आयोजनामा आजदेखि सुरु भएको तालिम आगामी कात्तिक २० गतेसम्म सञ्चालन हुनेछ । ६ दिनसम्म चल्ने उक्त प्रशिक्षण कार्यक्रम देशका विभिन्न १४ स्थानमा आयोजना गरिने जनाइएको छ।
कार्यक्रमअन्तर्गत हेटौँडा, बिर्तामोड, विराटनगर, दमक, धनगढी, पर्सारटाँडी, इटहरी, नारायणघाट, मिर्चैया, पोखरा, भैरहवा, ढल्केवर, दाङ-घोराही र वीरगञ्जमा तालिम सञ्चालन हुनेछ।
तालिममा टाटा कमर्सियल गाडीका प्राविधिक तथा इलेक्ट्रिसियनलाई लक्षित गरी आधुनिक सवारी प्रविधि र बीएस-६ प्रविधिसम्बन्धी प्राविधिक ज्ञान तथा सीप प्रदान गरिनेछ।
प्रशिक्षणमा विद्युतीय प्रणालीको आधारभूत ज्ञान, ब्याट्रीको संरचना तथा कार्यप्रणाली, भोल्टेज, करेन्ट, रेसिस्टेन्स, विद्युतीय सर्किट, मल्टिमिटरको प्रयोग तथा सवारीसाधनको स्टार्टिङ र चार्जिङ प्रणालीसम्बन्धी विषय समेटिएका छन् ।
त्यस्तै, बीएस-६ इन्जिन म्यानेजमेन्ट सिस्टमअन्तर्गत सेन्सर, इलेक्ट्रोनिक कन्ट्रोल युनिट (ईसीयू) र एक्टुएटरको कार्यप्रणालीबारे पनि जानकारी दिइनेछ।
सवारीसाधनको उत्सर्जन नियन्त्रण प्रणालीअन्तर्गत एससीआर तथा एलएनटी सिस्टमको परिचय, तिनका विभिन्न कम्पोनेन्टको पहिचान र कार्यप्रणाली, सिस्टमको सर्किट विश्लेषण तथा रिजेनेरेसन प्रक्रियाबारे समेत प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।
यसका साथै डायग्नोस्टिक टुल्सको प्रयोग गरी सवारीसाधनमा देखिने प्राविधिक समस्या पहिचान तथा समाधान गर्ने विषयलाई पनि तालिममा समावेश गरिएको छ ।
तालिमले टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्तिलाई आधुनिक सवारी प्रविधिसँग परिचित गराउनुका साथै उनीहरूको प्राविधिक दक्षता, समस्या समाधान गर्ने क्षमता र व्यावसायिक सीप अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।
प्राविधिक जनशक्तिको क्षमता विकास, नवीनतम सवारी प्रविधिसम्बन्धी ज्ञान विस्तार तथा गुणस्तरीय सर्भिसिङ सेवालाई प्रोत्साहन गर्ने उद्देश्यले दुवै संस्थाले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरेका हुन् ।