घोप्टेभिरको पहिरो हटाउन पृथ्वी राजमार्ग आजदेखि दैनिक ५ घण्टा बन्द

दियोपोस्ट संवाददाता

काठमाडौँ । चितवनको पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा-मुग्लिन सडक खण्ड आज शनिबार देखि ५ घण्टा बन्दा हुने भएको छ । उक्त सडकखण्डको घोप्टेभिरमा पहिरो हटाउने कार्यका लागि शनिबार देखि अर्को सूचना जारी नभएसम्मका लागि दैनिक ५ घण्टा सडक बन्द हुने भएको हो ।

घोप्टेभिरमा लगातार सुक्खा पहिरो खसिरहेको र सडकमा जोखिमयुक्त ढुंगा तथा माटो हटाउनुपर्ने भएकाले शनिबारदेखि अर्को सूचना जारी नभएसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक आवागमन बन्द गरिने नेपाल प्रहरीले जनाएको छ ।

उक्त समयमा सडक खण्ड भएर सञ्चालन हुने सबै सवारी साधनको आवागमन पूर्ण रूपमा रोक लगाइने छ ।

नेपाल प्रहरीले सडक प्रयोगकर्तालाई यात्रा गर्नुअघि समयको ख्याल गर्न, पर्याप्त सावधानी अपनाउन तथा ट्राफिक नियम र सडक अनुशासन पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ ।