मन्सीको विस्फोटक शतकसँगै सुदूरपश्चिम रोयल्स पहिलो पटक एनपिएल च्याम्पियन

राजेन्द्र भट्ट

 काठमाडौं- जर्ज मन्सीको शानदार शतकको मद्दतले सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम तेस्रो प्रयासमा पहिलोपटक च्याम्पियन बनेको हो।

पहिलो ब्याटिङ गर्दै लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो। उसका लागि दिलीप नाथले अविजित ३९, कप्तान रोहितकुमार पौडेलले ३० र निरोशन डिक्वेलाले २८ रन बनाए। सुदूरपश्चिमका स्कट कुगेलेइनले २ तथा हेमन्त धामी, थारिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।

१५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्‍यो। मन्सीले ५४ बलमा १२ छक्का र ८ चौका प्रहार गर्दै अविजित १२५ रन बनाए भने विनोद भण्डारी ३० रनमा अविजित रहे। मन्सीले ४९ बलमा शतक पूरा गर्दै एनपिएल फाइनलमा शतक बनाउने पहिलो खेलाडीको कीर्तिमान समेत रचे।

अघिल्ला दुई संस्करणको फाइनलमा पराजित भएको सुदूरपश्चिमले यसपटक भने लुम्बिनीलाई कुनै मौका नदिई ऐतिहासिक उपाधि उचाल्यो।

सम्बन्धित खबर