
धरान । सुनसरीको धरान उपमहानगरपालिका-८ स्थित सेउती पुलबाट प्रहरीले ४९९ किलोग्राम गाँजा जस्तो देखिने पदार्थसहित भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी बरामद गरेको छ । प्रहरीले गाडीका चालकलाई समेत नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मंसिर ५ गते राति करिब ११ः३० बजे इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी तीनकुनेबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारीसाधन जाँच गर्ने क्रममा उक्त पदार्थ बरामद गरेको हो ।
प्रहरीले प्रारम्भिक रूपमा धरान-२ भानुचोकमा शंकास्पद स्कार्पियोलाई रोक्न खोजेको थियो । तर चालकले प्रहरीको संकेत बेवास्ता गर्दै गाडी अघि बढाएपछि प्रहरी टोलीले पछ्याएको थियो । त्यसक्रममा धरान-८ स्थित सेउती पुलमा गाडी नियन्त्रणमा लिन प्रहरी सफल भएको थियो ।
गाडी जाँच गर्दा १६ वटा बोरामा राखिएको ४९९ किलोग्राम गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले स्कर्पियो चालक मोरङको विराटनगर महानगरपालिका-१३ निवासी ३२ वर्षीय अजय कुमार साहलाई समेत पक्राउ गरेको छ ।