
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज भारतको दुईदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्दै छन् । प्रधानमन्त्री बनेपछि छिमेकी मुलुक भारतको पहिलो राजकीय भ्रमणमा जान लागेका शाहको यस भ्रमणलाई नेपाल-भारत सम्बन्धलाई नयाँ गति दिने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको नियमित उडानमार्फत दिउँसो १ः४५ बजे नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार उनी दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अपराह्न ३ः१५ बजे पुग्नेछन् । त्यहाँ भारत सरकारका प्रतिनिधिले उनको स्वागत गर्ने कार्यक्रम छ ।
दिल्ली पुगेपछि प्रधानमन्त्री शाहले आज साँझ भारतीय विदेशमन्त्री डा. एस जयशङ्करसँग शिष्टाचार भेट गर्नेछन् । ताजमहल होटलमा हुने भेटमा दुई देशबीचको आपसी सम्बन्ध, द्विपक्षीय सहयोग र आगामी उच्चस्तरीय वार्ताका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति भवनमा औपचारिक स्वागत तथा सम्मान ग्रहण गर्नेछन् । त्यसपछि बिहान १०ः४० बजे नयाँ दिल्लीस्थित राजघाटमा पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्ने कार्यक्रम छ ।
सोमबार बिहान ११ बजे हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ । वार्तामा नेपाल-भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विषयमा विचार आदानप्रदान हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
दुई प्रधानमन्त्रीबीचको वार्तापछि विभिन्न समझदारीपत्र तथा सहमति आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदीले नेपाली प्रधानमन्त्रीको सम्मानमा औपचारिक दिवाभोजसमेत आयोजना गर्नेछन् ।
ऊर्जा र आर्थिक सहकार्य प्राथमिकतामा:
प्रधानमन्त्री शाहको भारत भ्रमणमा ऊर्जा सहकार्यलाई विशेष प्राथमिकता दिइने भएको छ । दुई देशबीच विद्युत् उत्पादन, प्रसारण पूर्वाधार, सीमापार विद्युत् व्यापार र जलविद्युत् आयोजनाको विकाससम्बन्धी विषयमा छलफल हुनेछ ।
नेपाल र भारतबीच सन् २०२२ मा भएको ऊर्जा क्षेत्र सहकार्यसम्बन्धी संयुक्त दृष्टिपत्रले जलविद्युत् आयोजनाको संयुक्त विकास, सीमापार प्रसारण लाइन विस्तार, दुवैतर्फ विद्युत् व्यापार र राष्ट्रिय विद्युत् प्रणालीबीच समन्वयलाई प्राथमिकता दिएको छ ।
सन् २०१४ को विद्युत् व्यापार सम्झौताले नेपालबाट भारततर्फ १० हजार मेगावाटसम्म विद्युत् निर्यात गर्ने दीर्घकालीन लक्ष्य अघि सारेको छ । पछिल्ला वर्षमा नेपालले भारतमा विद्युत् निर्यात विस्तार गर्दै आएको छ भने भारतीय प्रसारण सञ्जालमार्फत बङ्गलादेशमा समेत विद्युत् बिक्री गर्न थालेको छ ।
भारतको सहयोग तथा सहभागितामा अघि बढिरहेका अरुण तेस्रो (९०० मेगावाट), तल्लो अरुण (करिब ६७० मेगावाट) र सीमापार प्रसारण लाइनका आयोजनाहरू ऊर्जा सहकार्यका महत्त्वपूर्ण उदाहरण हुन् ।
४०० केभीको गोरखपुर-नयाँ बुटवल प्रसारण लाइन निर्माण पनि दुई देशबीचको विद्युत् आदानप्रदान क्षमता विस्तारका लागि महत्त्वपूर्ण मानिएको छ । यसअघि सञ्चालनमा आएको ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनले नेपाल-भारत विद्युत् व्यापारमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।
भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणका विवरणअनुसार अरुण तेस्रोबाट उत्पादित विद्युत् र अन्य आयोजनाको विद्युत् प्रसारणका लागि अरुण तेस्रो-ढल्केबर-सितामढी प्रसारण लाइन पनि निर्माणाधीन छ ।
व्यापार र लगानी विस्तारमा जोड:
भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार तथा वैदेशिक लगानीको प्रमुख स्रोत हो । भारतीय दूतावासको द्विपक्षीय सम्बन्धसम्बन्धी विवरणअनुसार आर्थिक वर्ष २०२५र२६ मा नेपाल र भारतबीचको वस्तु व्यापार करिब ९ अर्ब ३८ करोड अमेरिकी डलर पुगेको छ । यो नेपालको कुल वैदेशिक वस्तु व्यापारको ६० प्रतिशतभन्दा बढी हो ।
नेपालको निर्यातको ठूलो हिस्सा भारतीय बजारमा निर्भर छ । आर्थिक वर्ष २०२५-२६ मा भारततर्फ नेपालको निर्यात करिब एक अर्ब ९४ करोड अमेरिकी डलर पुगेको भारतीय वाणिज्यसम्बन्धी विवरणमा उल्लेख छ ।
प्रधानमन्त्री शाहको भ्रमणका क्रममा व्यापार तथा पारवहन सहजीकरण, नेपाली उत्पादनको भारतीय बजारमा पहुँच, सीमावर्ती पूर्वाधार विकास, लगानी अभिवृद्धि र औद्योगिक सहकार्यका विषयले महत्त्व पाउने अपेक्षा गरिएको छ ।
यसै क्रममा नेपाल–भारत बिजनेस फोरमको कार्यक्रम आयोजना गरिनेछ । उक्त कार्यक्रममा भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानीका अवसरबारे जानकारी गराउनुका साथै नेपाल सरकारले लगानी आकर्षित गर्न अघि सारेका नीतिगत व्यवस्था र सुधारका प्रयास प्रस्तुत गरिनेछ ।
नेपालमा भारतीय लगानी विस्तार, उद्योग स्थापना, पर्यटन, ऊर्जा, सूचना प्रविधि र पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता बढाउने उद्देश्यले व्यवसायीबीच छलफल गरिनेछ ।
प्रधानमन्त्री शाहको भ्रमणमा नेपालको हवाई सम्पर्क विस्तारको विषय पनि महत्त्वपूर्ण एजेन्डा बन्ने देखिएको छ । खासगरी भैरहवा र पोखरा विमानस्थलका लागि नयाँ हवाई प्रवेशमार्गको विषयमा छलफल गरिने बताइएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न पश्चिमतर्फबाट नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय हवाई मार्ग उपलब्ध गराउने विषयमा नेपालले लामो समयदेखि भारतसँग आग्रह गर्दै आएको छ ।
नेपालले महेन्द्रनगर हुँदै सञ्चालन हुने एल६२६ हवाई मार्गलाई दुवैतर्फ प्रयोग गर्न पाउने व्यवस्था मिलाउन जोड दिइरहेको छ । हाल यो मार्गबाट बाहिरिने उडानलाई मात्र सुविधा उपलब्ध छ ।
नयाँ हवाई प्रवेशमार्ग उपलब्ध भए पश्चिमी मुलुक तथा मध्यपूर्वबाट आउने विमानलाई लामो घुमाउरो मार्ग प्रयोग गर्नुपर्ने बाध्यता कम हुनेछ । यसले उडान समय र इन्धन खर्च घटाउनुका साथै भैरहवा र पोखरा विमानस्थलको व्यावसायिक सम्भावना बढाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।
तर यस विषयमा भारतले पनि आफ्नो सीमावर्ती विमानस्थलका लागि नेपाली हवाई क्षेत्र प्रयोग गर्ने विषयलाई समग्र प्याकेजका रूपमा अघि सारेको समाचार सार्वजनिक भएको छ । त्यसैले यस भ्रमणमा हवाई मार्गसम्बन्धी सहमति बन्ने वा नबन्ने विषयलाई चासोका साथ हेरिएको छ ।
बाढीपछिको पुनर्निर्माणमा भारतीय सहयोगको अपेक्षा:
यस भ्रमणको अर्को महत्त्वपूर्ण पक्ष प्राकृतिक विपद्पछिको पुनर्निर्माण र पूर्वाधार पुनःस्थापना हो ।
गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले नेपालका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो । बाढीले सडक, पुल, जलविद्युत् आयोजना, सञ्चार संरचना तथा बस्तीमा क्षति पुर्याएको थियो ।
उक्त विपद्पछि नेपालले पुनर्निर्माणका लागि करिब चारदेखि पाँच अर्ब अमेरिकी डलर आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ । विपद्का बेला भारतले राहत सामग्री, उद्धार सहयोग, प्राविधिक जनशक्ति र पूर्वाधार पुनःस्थापनामा सहयोग उपलब्ध गराएको थियो ।
यस पृष्ठभूमिमा प्रधानमन्त्री शाह र मोदीबीच पुनर्निर्माण, विपद् व्यवस्थापन, नदी नियन्त्रण, सीमावर्ती क्षेत्रमा बाढीको जोखिम न्यूनीकरण तथा पूर्वाधार पुनःस्थापनामा थप सहयोगका विषयमा छलफल हुन सक्नेछ ।
शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा समझदारी:
भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषय पनि छलफलमा समेटिनेछन् ।
यी क्षेत्रमा दुई देशबीच विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने कार्यक्रम रहेको छ । यसबाट प्राविधिक ज्ञान आदानप्रदान, शैक्षिक अवसर विस्तार, स्वास्थ्य सेवामा सहकार्य र संस्थागत क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल र भारतबीच खुला सीमा, धार्मिक तथा सांस्कृतिक सम्बन्ध, व्यापारिक आवागमन र जनस्तरको सम्बन्ध ऐतिहासिक रूपमा निकट रहँदै आएको छ । त्यसैले उच्चस्तरीय भ्रमणलाई दुई देशबीच विद्यमान सहकार्यलाई थप संस्थागत र परिणाममुखी बनाउने अवसरका रूपमा हेरिएको छ ।
३४ सदस्यीय प्रतिनिधिमण्डल:
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी रहनेछन् । यसका अतिरिक्त निजी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीसमेत भ्रमण टोलीमा रहनेछन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार भ्रमणमा ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डल सहभागी हुनेछ । प्रधानमन्त्री शाहले सोमबार भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यसपछि उनी स्वदेश फर्कनेछन् ।
नेपाल र भारतबीच पछिल्ला वर्षमा ऊर्जा व्यापार, सीमापार पूर्वाधार, व्यापार तथा पारवहनका क्षेत्रमा सहकार्य विस्तार हुँदै गएको छ । यद्यपि हवाई प्रवेशमार्ग, व्यापार असन्तुलन, सीमासम्बन्धी विषय र जलस्रोतको उपयोगजस्ता विषय अझै चुनौतीका रूपमा छन् ।
यस अवस्थामा प्रधानमन्त्री शाहको पहिलो भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई कस्तो दिशा दिन्छ र छलफलमा उठाइएका विषयलाई व्यवहारमा कार्यान्वयन गर्न कति सफलता मिल्छ भन्ने विषय महत्त्वपूर्ण रहनेछ ।