अष्टमीदेखि दसैँसम्म मौसम राम्रो रहने, पश्चिम नेपालमा हल्का वर्षाको सम्भावना

दियोपोस्ट संवाददाता

काठमाडौँ । देशमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज अपराह्न र राति कमजोर पश्चिमी वायुको प्रभावका कारण पश्चिम नेपालका केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा जल तथा मौसमविद् डा. विनोद पोखरेलका अनुसार मौसममा देखिएको यो प्रभाव भोलिसम्म रहन सक्नेछ । देशका धेरै स्थानमा बादल लाग्ने भए पनि पहाडी भेगका थोरै स्थानमा मात्रै वर्षा हुने सम्भावना रहेको उनले बताएका छन् ।

उनका अनुसार अर्को हप्ता अष्टमीदेखि दसैँभरि समग्रमा मौसम राम्रो रहने देखिएको छ । यद्यपि, केही स्थानमा छोटो समयका लागि हल्का वर्षा हुन सक्ने सम्भावना भने कायमै छ।

यसैबीच, अरब सागरमा सम्भावित चक्रवात र त्यससँग सम्बन्धित मौसमी प्रणालीको प्रभावले दसैँपछि कात्तिक १२-१३ गतेतिर नेपालमा भारी वर्षा हुन सक्ने संकेत एउटा मौसम मोडेलले देखाएको छ।

पछिल्ला दुई महिनामा नेपालले अप्रत्याशित बाढीका घटना सामना गरेको उल्लेख गर्दै डा. पोखरेलले सम्भावित मौसमी जोखिमबारे समयमै जानकारी राख्न र सचेत रहनुपर्ने आवश्यकता औँल्याएका छन् ।

यद्यपि, कात्तिक १२-१३ गते भारी वर्षा हुने विषय अहिले नै निश्चित पूर्वानुमान वा चेतावनी नरहेको उनले स्पष्ट पारेका छन् । उक्त समय आउन अझै करिब दुई हप्ता बाँकी रहेकाले चक्रवात बन्ने वा नबन्ने, यसको मार्ग र नेपालमा पर्न सक्ने प्रभावबारे अहिले नै यकिन गर्न नसकिने उनको भनाइ छ ।

मौसमको आगामी अवस्थाबारे थप पूर्वानुमान प्राप्त भएपछि त्यसअनुसार जानकारी अद्यावधिक गरिने उनले बताएका छन् ।