चामल जफत भएपछि कपिलवस्तुका व्यवसायीले गरे आत्मदाहको प्रयास

दियोपोस्ट संवाददाता

काठमाडौँ । कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ बैंकरोडमा प्रहरीले चामल जफत गरेपछि एक व्यवसायीले आत्मदाहको प्रयास गरेका छन् । लुम्बिनी प्रदेश प्रहरीको विशेष टोलीले अनुगमनका क्रममा चामल बोकेको पिकअपमा आवश्यक कागजात जाँच गर्दा विवाद भएपछि गल्ला पसल सञ्चालक महेश अग्रहरीले आत्मदाहको प्रयास गरेका हुन् ।

स्थानीयका अनुसार प्रहरीले आवश्यक कारबाहीका लागि चामल भन्सार बुझाएपछि अग्रहरीले शरीरमा मट्टितेल छर्केर आगो लगाउन खोजेका थिए ।

आगो लगाउने प्रयास गरिरहेका अग्रहरीलाई प्रहरीले तत्काल जोगाएको थियो । त्यसपछि बेहोस भएका उनलाई उपचारका लागि सुरुमा तौलिहवा अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि रुपन्देहीको भैरहवास्थित मेडिकल कलेजमा लगिएको छ।

अग्रहरीले आफूले ल्याएको ६० बोरा चामलको बिलबिजक हुँदाहुँदै पनि प्रहरीले चामल नियन्त्रणमा लिएको दाबी गरेका छन् । प्रहरीका अनुसार चेकजाँचका क्रममा व्यवसायीले आवेशमा आएर शरीरमा मट्टितेल छर्केर आगो लगाउन खोजेका थिए।

प्रहरीले तत्काल उद्धार गरेकाले उनको शरीरमा आगो नलागेको र मट्टितेलका कारण असर देखिएपछि उपचारका लागि भैरहवा लगिएको जनाइएको छ।
घटनाबारे थप विवरण आउन बाँकी छ।

सम्बन्धित खबर