
काठमाडौँ । दसैँमा घर फर्किनका लागि अग्रिम बस टिकट बुकिङ गर्ने यात्रुको संख्या १ लाख ३० हजार नाघेको छ । गत शुक्रबार असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला भएयता हालसम्म १ लाख ३० हजार १२९ यात्रुले टिकट बुकिङ गराएका हुन् ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २३ गते २१ हजार ३००, २४ र २५ गते ७६ हजार ७९, २६ गते १७ हजार १९७ र २७ गते १५ हजार ५५३ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन् ।
यसैबीच, दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको संख्या पनि बढेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मंगलबार बिहानदेखि आज बिहानसम्मको २४ घण्टामा विभिन्न नाका हुँदै ७८ हजार १३८ यात्रु बाहिरिएका छन् ।
घटस्थापनादेखि हालसम्म सार्वजनिक सवारीसाधन प्रयोग गरी १ लाख ८७ हजार ७७४ यात्रु उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार असोज २५ गते ५२ हजार ८२७ र २६ गते ५६ हजार ८०९ यात्रु बाहिरिएका थिए ।
दसैँ मनाउन काठमाडौँबाट फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाकाहुँदै यात्रु बाहिरिएका हुन् ।
घर फर्किने यात्रुको संख्या बढेसँगै यातायात व्यवसायीलाई सवारीसाधन व्यवस्थापन गर्न समस्या परेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सडकको अवस्थाका कारण यातायात व्यवस्थापनमा कठिनाइ भइरहेको जनाएको छ ।
दसैँको मुखमा विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिएका कारण सवारीसाधन समयमा गन्तव्यमा पुग्न र काठमाडौँ फर्किन समस्या भइरहेको महासंघले जनाएको छ । यसले सवारीसाधनको व्यवस्थापनमा थप चुनौती सिर्जना गरेको छ ।
असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएर सवारी आवागमन अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमै रोकिएकाले यातायात व्यवस्थापनमा समस्या भएको थियो ।