बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृत्यु

दियोपोस्ट संवाददाता

एजेन्सी । भारतको बिहारस्थित सिवान जिल्लामा पटाका बनाउने क्रममा एक घरमा विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार सिवान जिल्लाको आलमपुर गाउँमा भएको विस्फोटमा पाँच जनाको मृत्यु भएको पुष्टि भएको हो ।

सिवानका प्रहरी उपरीक्षक (एसपी) भरत सोनीका अनुसार मेडिकल टोलीको मूल्यांकनपछि सिभिल सर्जनले पाँच जनाको शव फेला परेको पुष्टि गरेका छन् । घटनाका बेला घरमा सातदेखि आठ जना उपस्थित रहेको बताइएको छ । तीमध्ये पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ भने दुईदेखि तीन जना घरबाहिर रहेको अनुमान गरिएको छ । प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।

घटनास्थलमा फोरेन्सिक साइन्स ल्याबको टोली पुगेको छ । आगो पूर्ण रूपमा निभाइसकिएको र घरको भग्नावशेषमा थप शव हुन सक्ने आशंकामा खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलको निगरानी तथा क्षेत्रको जाँचका लागि ड्रोनसमेत प्रयोग गरिएको छ । बम पत्ता लगाउने र निष्क्रिय पार्ने टोली पनि घटनास्थलमा खटिएको छ ।

प्रहरी उपरीक्षक सोनीले घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान भइरहेको र यससम्बन्धी मुद्दा दर्ता गरिएको बताएका छन् ।

घटनामा लापरवाही गरेको आरोपमा जामो बजार प्रहरी चौकीका इन्चार्ज र स्थानीय चौकीदार चन्द्रिका माझीलाई तत्काल लागू हुने गरी निलम्बन गरिएको छ । घटनाको कारण पत्ता लगाउन विशेष प्रहरी टोलीसमेत गठन गरिएको प्रहरीले जनाएको छ ।