बाँकेमा दुई कार ठोक्किँदा एक जनाको मृत्यु, ६ जना घाइते

दियोपोस्ट संवाददाता

काठमाडौँ । बाँकेको राप्तीसोनारी गाउँपालिका-१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१-०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१-०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा बा.प्र. ०१-०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका-५ घर भई हाल काठमाडौँ बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । दुर्घटनामा घाइते भएका शाहीलाई उपचारका क्रममा बिहान १० बजेर ८ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

सोही कारमा सवार ४० वर्षीया कुसुम शाही र १६ वर्षीय सुभम शाहीको अवस्था सामान्य रहेको छ । कारका चालक डोटीको साविक मुदेगाउँ -७ घर भएका ४५ वर्षीय नरेन्द्रबहादुर शाही घाइते भएका छन् । उनको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालिमा उपचार भइरहेको छ ।

त्यस्तै, अर्को कारमा सवार दाङको घोराही उपमहानगरपालिका-७ का ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते भएका छन् । उनीहरूको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उक्त कारका चालक घोराही उपमहानगरपालिका-७ सौरियारका करिब ४० वर्षीय सम्राट नाथ योगीलाई भने चोटपटक लागेको छैन । उनलाई इलाका प्रहरी कार्यालय कुसुम, बाँकेले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका कारण अवरुद्ध भएको पूर्व-पश्चिम राजमार्ग बिहान १० बजेर १५ मिनेटमा पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।