
काठमाडौँ । बडादसैँअन्तर्गत टीकाको चौथो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिन टीका लगाउन नभ्याएका तथा छुटेका सर्वसाधारण आफन्त र मान्यजनकहाँ पुगेर टीका लगाउने र आशीर्वाद लिने गरिरहेका छन् ।
नेपाली परम्पराअनुसार विजयादशमीका दिनदेखि सुरु हुने टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमासम्म चल्ने गर्छ । दसैँलाई परिवारका सदस्य तथा लामो समयदेखि भेटघाट हुन नसकेका आफन्तसँग भेटघाट र पुनर्मिलन गर्ने अवसरका रूपमा पनि लिइन्छ ।
यस पर्वले परिवार तथा आफन्तबीचको सम्बन्ध सुमधुर बनाउनुका साथै आपसी सद्भाव, विश्वास र भाइचारालाई प्रगाढ बनाउने विश्वास गरिन्छ ।
मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिन जानेहरूको आवागमन बढेसँगै सडक तथा सहर बजारमा सर्वसाधारणको चहलपहल पनि बढेको छ ।
यसैबीच, दसैँ मनाउन सदरमुकाम तथा सहरबाट गाउँघर गएकाहरू पुनः आफ्नो गन्तव्यतर्फ फर्कने क्रमसमेत बढ्दै गएको छ ।