गंगापूर्ण हिमालमा बेपत्ता दुई जापानी पर्वतारोहीको शव भेटियो

दियोपोस्ट संवाददाता

मनाङ । गंगापूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता भएका दुई जापानी पर्वतारोहीको शव भेटिएको छ । मनाङको ङिस्याङ गाउँपालिका-६ स्थित सात हजार ४५५ मिटर अग्लो गंगापूर्ण हिमाल आरोहणका क्रममा गत अक्टोबर १५ देखि सम्पर्कविहीन भएका जापानी नागरिक हिदेसुके तानेइशी र तेत्सु हाशिमोतोको शव शुक्रबार फेला परेको हो ।

प्रहरीका अनुसार काठमाडौँस्थित कस्मो एडभेन्चर कम्पनीमार्फत नेपाली पथप्रदर्शकसहित हिमाल आरोहणमा गएका उनीहरू गत असोज २९ गतेदेखि सम्पर्कविहीन भएका थिए ।

करिब सात हजार ५० मिटरको उचाइबाट सम्पर्कविच्छेद भएपछि उनीहरूको खोजीका लागि हेलिकप्टर र उद्धार टोली परिचालन गरिएको थियो । खोजीका क्रममा उनीहरूले प्रयोग गरेका झोला तथा आरोहण सामग्री फेला परेका थिए ।

लगातारको खोजीपछि शुक्रबार गंगापूर्ण हिमालको दक्षिणी भागमा करिब छ हजार ३०० मिटरको उचाइमा दुवै पर्वतारोहीको शव फेला परेको प्रहरीले जनाएको छ ।

दुवैको शव काठमाडौँ ल्याउने तयारी भइरहेको छ । आवश्यक परीक्षणपछि नेपालस्थित जापानी राजदूतावासको समन्वयमा शव परिवारलाई जिम्मा लगाइने जनाइएको छ ।