
चितवन । चितवनमा तीन वटा सवारीसाधन एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका-४ स्थित धारापानीमा आज बिहान ट्रक, बस र माइक्रोबस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनापछि सडक अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार सर्लाहीबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २७७७ नम्बरको बस, काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ज १२५९ नम्बरको माइक्रोबस आपसमा ठोक्किएका हुन् ।
दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ६६ जनाको टोली परिचालन गरिएको छ ।
घाइतेहरूलाई स्थानीय अस्पताल तथा कुरिनटारस्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा उपचारका लागि लगिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।