एनपीएलमा आज दुई खेल हुँदै, चितवन-विराटनगर र कर्णाली-जनकपुर भिड्दै

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाली क्रिकेटको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा चितवन राइनोज र विराटनगर किंग्स भिड्नेछन् । यी दुई टोलीबीचको खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ ।

त्यस्तै, आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् । यी दुई टोलीबीचको खेल साँझ ५ बजे सुरु हुनेछ ।

सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य पूरा गर्दै लुम्बिनीले प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीको सहभागिता छ । प्रतियोगितामा कुल ३२ खेल हुनेछन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिताको विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले ८० लाख रुपैयाँ पाउनेछ ।

सम्बन्धित खबर