मकवानपुरमा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

दियोपोस्ट संवाददाता

हेटौँडा । बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातका कारण भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय मकवानपुरले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेष बुलेटिनअनुसार कात्तिक ११ देखि १४ गतेसम्म मकवानपुरसहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज सूचना जारी गर्दै भारी वर्षाका कारण नदी तथा खोलामा आकस्मिक बाढी आउने, कटान तथा डुबान हुने र पहिरो जाने जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो ।

प्रशासनले पाकेको धानबाली तथा अन्य कृषिउपज सुरक्षित रूपमा भित्र्याउन अनुरोध गरेको छ । वर्षाको अवधिमा बाली नकाट्न, नदी तथा खोला नतर्न र माछा मार्ने तथा दाउरा सङ्कलन गर्नेजस्ता जोखिमपूर्ण गतिविधि नगर्न पनि आग्रह गरिएको छ ।

त्यस्तै, त्रिभुवन राजपथ, कान्ति लोकपथ, हेटौँडा-काठमाडौँ छोटो मार्ग तथा ग्रामीण सडकमा पहिरोको जोखिम रहेकाले अत्यावश्यक कामबाहेक लामो दूरी र रात्रिकालीन यात्रा नगर्न प्रशासनले अनुरोध गरेको छ । यात्रा गर्नैपर्ने अवस्था भएमा सडकको अवस्था बुझेर मात्र निस्कन आग्रह गरिएको छ ।

प्रशासनले बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, अपाङ्गता भएका व्यक्ति तथा बिरामीलाई सुरक्षित स्थानमा राख्न र चौपायाको सुरक्षामा समेत ध्यान दिन अनुरोध गरेको छ । साथै, महत्त्वपूर्ण कागजात सुरक्षित राख्न र सम्भावित विपद्बाट जोगिन आवश्यक पूर्वतयारी गर्न पनि आग्रह गरिएको छ ।