चक्रवात अर्नबको प्रभावले बिहीबारदेखि वर्षा हुने सम्भावना

दियोपोस्ट संवाददाता

काठमाडौँ । बंगालको खाडीमा विकसित चक्रवात अर्नबको प्रभावले नेपालमा बिहीबारदेखि वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा जल तथा मौसमविद् डा. विनोद पोखरेलका अनुसार चक्रवात अर्नब आज अपराह्न वा साँझ भारतको विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा पुग्ने देखिएको छ ।

यसको प्रभाव नेपालमा भोलिदेखि बादल लाग्न थाले पनि वर्षा भने बिहीबारदेखि सुरु हुने सम्भावना रहेको उनले बताएका छन् ।

चक्रवातको प्रभावले गण्डकीदेखि कोशी प्रदेशसम्मका धेरै स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान अझै कायम रहेको पोखरेलले बताएका छन् । यद्यपि, मौसम पूर्वानुमान गर्ने विभिन्न मोडेलबीच वर्षाको मात्रा र अवधि सम्बन्धमा केही भिन्नता देखिएको छ ।

उनका अनुसार अमेरिकी मौसम पूर्वानुमान मोडेल जीएफएसले अन्य मोडेलभन्दा फरक पूर्वानुमान देखाएकाले भारी वर्षा हुने वा कम मात्रामा भए पनि लामो समयसम्म वर्षा जारी रहने भन्ने विषयमा केही अनिश्चितता बढेको छ ।

यद्यपि, सातवटा मौसम पूर्वानुमान मोडेलको समग्र विश्लेषण गर्दा नेपालमा भारी वर्षाको सम्भावना अझै देखिएको उनले बताएका छन् ।

सम्भावित वर्षालाई ध्यानमा राख्दै पोखरेलले हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । त्यस्तै, किसानलाई काटिसकेको तथा काट्न तयार धानबाली सुरक्षित राख्न आवश्यक तयारी गर्न पनि उनले अनुरोध गरेका छन् ।