
रुपन्देही । लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खान सहित दुईजना गएराति पक्राउ परेका छन् । प्रहरीले गएराति लुम्बिनीस्थित पर्साचोकमा रहेको घरमा सुतिरहेका बेला ६१ वर्षीय खान र लुम्बिनी सांस्कृतिक नगरपालिका-९ का ३३ वर्षीय वाविउद्दिन मुसलमानलाई पक्राउ गरेको हो ।
उनीहरुले लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्ति खारेजीको माग गर्दै आन्दोलन गर्दै आएका थिए ।
महाअभियानका सहसंयोजक रामविकास चौधरीका अनुसार शान्तिपूर्ण रूपमा आफ्ना माग राख्दै आन्दोलन गरिरहेका बेला प्रहरीले मध्यरातमा उनीहरूलाई पक्राउ गरेको हो । महाअभियानले पक्राउ परेका दुवै जनालाई तत्काल निःशर्त रिहा गर्न माग गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुवै जनालाई पक्राउ गरिएको पुष्टि गरेको छ । प्रहरीले उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरी जिल्ला प्रहरी कार्यालय भैरहवामा राखिएको जनाएको छ ।
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्ति बदर गरी स्थानीय योग्य व्यक्तिलाई नियुक्त गर्नुपर्ने मागसहित महाअभियानले चरणबद्ध आन्दोलन गर्दै आएको छ । आन्दोलनकै क्रममा महाअभियानले सोमबार दिउँसो पर्साचोकमा संस्कृति तथा पर्यटनमन्त्री गणेश पौडेलको पुत्ला दहनसमेत गरेको थियो ।
कोषको उपाध्यक्षमा आवेदन नै नदिएकी आनी छोइङ डोल्मालाई नियुक्त गरिएको भन्दै महाअभियानसहित विभिन्न समूह तथा व्यक्तिले विरोध जनाउँदै आएका छन् । विरोध गर्नेमा कपिलवस्तुस्थित तिलौराकोट संघर्ष समिति, लुम्बिनीका प्रदेशसभा सदस्य, पूर्वमन्त्री चन्द्रकेश गुप्ता, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र राष्ट्रिय जेनजी नागरिक अभियानलगायत छन् ।
विरोधकर्ताहरूले आनीको वंशजको नागरिकता प्राप्तिको प्रक्रियाका साथै हङकङबाट प्राप्त गरेको भनिएको करोडौँ रुपैयाँको स्रोत, वैधता र पारदर्शितामाथि समेत प्रश्न उठाएका छन् । उनीहरूले आनीमाथि उठेका विषयमा निष्पक्ष छानबिन गर्नुपर्ने र छानबिनबाट निर्दोष प्रमाणित भएपछि मात्रै उनको नियुक्ति स्वीकार गर्न सकिने धारणा राख्दै आएका छन् ।