गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु, चार जना घाइते

दियोपोस्ट संवाददाता

गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका-२, अर्बेनीस्थित दभौखानीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेद थापा मगरका अनुसार दुर्घटनामा पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेहरूलाई उपचारका लागि स्याङ्जाको मिर्मी पठाइएको उनले जानकारी दिए ।

प्राप्त विवरणअनुसार सिरकोटबाट राक्से हुँदै वालिङतर्फ जाँदै गरेको स्कार्पियो गाडी दभौखानीस्थित भित्री सडकखण्डबाट सडकको दाहिनेतर्फ करिब २०० देखि २५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा चालक दिलिप बगाले र वालिङका शिव पराजुली रहेका छन् । त्यस्तै, कालीगण्डकी गाउँपालिका-१, सिरकोटका लोकनाथ पाण्डे, सीता पाण्डे र कुलानन्द पाण्डेको पनि मृत्यु भएको विवरण प्राप्त भएको छ। दुर्घटनामा मृत्यु भएका छैटौँ व्यक्तिको नाम भने उपलब्ध विवरणमा खुलाइएको छैन ।

दुर्घटनामा घाइते हुनेमा कालीगण्डकी गाउँपालिका-१, सिरकोटका छविलाल पाण्डे र गोमला पाण्डे तथा वालिङ-१० का बालकृष्ण सुवेदी र वालिङकी नीता बगाले रहेका छन् ।

घाइतेहरूको उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।

सम्बन्धित खबर

सिफारिस