
रियाद । साउदी अरबको पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नेपाली राजदूतावास, रियादले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
राजदूतावासले एक विज्ञप्ति जारी गर्दै सुरक्षा सतर्कतासम्बन्धी चेतावनी जारी भएको समयमा बाहिर ननिस्कन तथा साउदी अरबका आधिकारिक निकायबाट जारी हुने सूचना र निर्देशन नियमित रूपमा अवलोकन गर्न अनुरोध गरेको हो ।
विज्ञप्तिमा साउदी अरबका आधिकारिक निकायबाट जारी गरिएका सबै सुरक्षा निर्देशनको पालना गर्न र आधिकारिक स्रोतबाट पुष्टि नभएका समाचार, सूचना, जानकारी, तस्बिर तथा भिडियोहरू अरूलाई नपठाउन आग्रह गरिएको छ । त्यस्ता सामग्री सामाजिक सञ्जालमा सेयर वा पोस्ट नगर्नसमेत राजदूतावासले सचेत गराएको छ ।
त्यसैगरी, साउदी अरबबाट नेपाल वा अन्य कुनै देशमा हवाई यात्रा गर्नुअघि आफ्नो उडानको निर्धारित तालिकामा परिवर्तन भए-नभएको सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट यकिन गरेर मात्र यात्रा गर्न अनुरोध गरिएको छ ।
आवश्यक परेको अवस्थामा नेपाली नागरिकले रियादस्थित नेपाली राजदूतावास वा जेद्दास्थित नेपाली महावाणिज्यदूतावासमा सम्पर्क गर्न सक्नेछन् ।
राजदूतावासका सम्पर्क विवरण
नेपाली राजदूतावास, रियाद
नेपाली महावाणिज्यदूतावास, जेद्दा
राजदूतावासले साउदी अरबमा रहेका नेपाली नागरिकलाई सुरक्षा अवस्थाप्रति सचेत रहन, आधिकारिक सूचनालाई प्राथमिकता दिन र आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।
