
काठमाडौँ । बौद्ध भिक्षुणी आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने नेपाल सरकारको निर्णयको नेपाल बौद्ध महासंघले स्वागत गरेको छ । महासंघले नवनियुक्त उपाध्यक्ष आनी छोइङलाई बधाई दिँदै उनको कार्यकाल सफल र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ ।
महासंघका अध्यक्ष नुर्बु थुन्डु शेर्पा (गेशे थुप्तेन जिन्पा)ले बधाई विज्ञप्ति जारी गर्दै भगवान् गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीको संरक्षण, संवर्द्धन तथा विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने गरिमामय जिम्मेवारी आनी छोइङलाई सुम्पिएकोमा नेपाल सरकारप्रति धन्यवाद व्यक्त गरेका हुन् ।
महासंघले भनेको छ, ‘लुम्बिनी बिकास कोषको उपाध्यक्ष जस्तो गरिमामय पदमा विश्वविख्यात श्रद्धेय आनी छोइङ डोमा ज्यूलाई नियुक्त गर्नु भएकोमा नेपाल सरकारलाई हार्दिक धन्यवाद दिन चाहान्छौँ ।
महासंघले विश्वभर बौद्ध धर्म, शान्ति र आध्यात्मिकताको सन्देश फैलाउँदै आएकी आनी छोइङको दूरदृष्टि, समर्पण र उच्च प्रतिबद्धताले लुम्बिनीको अमूल्य बौद्ध सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
त्यसैगरी, लुम्बिनीको विश्वव्यापी महत्वलाई थप सुदृढ बनाउँदै यसलाई विश्वशान्ति, आध्यात्मिक अध्ययन तथा अन्तर्राष्ट्रिय सद्भावको केन्द्रका रूपमा विकास गर्न नवनियुक्त उपाध्यक्षको भूमिका महत्वपूर्ण हुने महासंघले जनाएको छ।
विश्वभर बौद्ध धर्म, शान्ति र आध्यात्मिकताको सन्देश प्रवाह गर्दै आएकी आनी छोइङको नेतृत्वमा लुम्बिनीको संरक्षण, विकास तथा अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धिमा थप योगदान पुग्ने अपेक्षा पनि महासंघले गरेको छ।
महासंघले उनको कार्यकाल सफल, सुखद् र उपलब्धिमूलक रहोस् भन्ने कामना गर्दै लुम्बिनीको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई विश्वसामु थप उजागर गर्न सफल हुने विश्वास व्यक्त गरेको छ।
