
काठमाडौँ । जातीय भेदभाव तथा छुवाछुतको अन्त्य, महिला तथा बालबालिकामाथि हुने हिंसा नियन्त्रण र सीमान्तकृत समुदायको न्यायमा पहुँच सुनिश्चित गर्ने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी र नेपाल प्रहरीका महानिरीक्षक (आईजीप) दानबहादुर कार्कीबीच छलफल भएको छ ।
मन्त्रालयमा भएको भेटवार्तामा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलगायत जोखिममा रहेका समुदायको अधिकार संरक्षण, सुरक्षा र न्यायमा पहुँच अभिवृद्धिका विषयमा छलफल गरिएको हो ।
भेटवार्तामा जातीय भेदभाव तथा छुवाछुतका घटनाको प्रभावकारी अनुसन्धान, दोषीमाथि कानुनी कारबाही, पीडितको सुरक्षा तथा प्राप्त उजुरीको शीघ्र सम्बोधनलाई प्राथमिकता दिइएको थियो । यस्ता घटनामा संलग्नलाई प्रचलित कानुनअनुसार कारबाहीको दायरामा ल्याउँदै पीडितलाई न्याय दिलाउने प्रक्रिया प्रभावकारी बनाउनुपर्नेमा दुवै पक्षले जोड दिएका थिए ।
यसका लागि नेपाल प्रहरीमा रहेको दलित सहायता कक्षलाई थप सक्रिय र प्रभावकारी बनाउने, पीडितका उजुरीलाई संवेदनशीलतापूर्वक सम्बोधन गर्ने तथा अनुसन्धान र अभियोजन प्रक्रियालाई छिटो अघि बढाउने विषयमा छलफल भएको थियो । साथै, प्रहरी कर्मचारी तथा अधिकारीलाई नियमित ब्रिफिङ र तालिममार्फत जातीय विभेदविरुद्धको कानुनी व्यवस्था, पीडितमैत्री व्यवहार र जवाफदेहिताबारे सचेत गराउनुपर्ने आवश्यकता औँल्याइएको थियो ।
महिला तथा बालबालिकामाथि हुने हिंसा र दुर्व्यवहार नियन्त्रण गर्नुका साथै जोखिममा रहेका बालबालिकाको संरक्षण, पुनर्स्थापना र पारिवारिक पुनर्मिलनलाई प्रभावकारी बनाउने विषयले पनि भेटवार्तामा प्राथमिकता पाएको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रलाई थप सक्रिय बनाउँदै स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरी पीडितमैत्री सेवा प्रवाह गर्नुपर्नेमा जोड दिइएको थियो ।
त्यसैगरी, सीमान्तकृत समुदायबाट प्राप्त उजुरी तथा गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गर्दै पीडितलाई आवश्यक सुरक्षा, संरक्षण र कानुनी उपचारमा सहज पहुँच सुनिश्चित गर्नुपर्ने विषयमा छलफल गरिएको थियो ।
सीमापार बालबालिकाको ओसारपसार तथा बेचबिखनको जोखिम न्यूनीकरण गर्न सीमा क्षेत्रमा जाँच र निगरानीलाई सुदृढ बनाउने विषय पनि छलफलमा समेटिएको थियो । यसका लागि स्थानीय बालकल्याण अधिकारी, स्थानीय तह तथा सम्बन्धित निकायबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो ।
भेटवार्तामा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार र सुरक्षासम्बन्धी सामाजिक सचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकताबारे समेत छलफल भएको थियो ।
मन्त्रालय र नेपाल प्रहरीबीचको समन्वय तथा सहकार्यलाई थप सुदृढ गर्दै जातीय भेदभाव तथा छुवाछुतविरुद्ध प्रभावकारी कानुनी कारबाही अघि बढाउने, हिंसापीडितको संरक्षण सुनिश्चित गर्ने र महिला, बालबालिका तथा सीमान्तकृत समुदायको अधिकार रक्षा गर्ने कार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा भेटवार्ताले जोड दिएको छ ।