स्पेनमा दुई हाई-स्पीड रेल एकापसमा ठोक्किए, कम्तीमा १० जनाको मृत्यु

दियोपोस्ट संवाददाता

एजेन्सी- स्पेनको राजधानी म्याड्रिडको दक्षिणी क्षेत्रमा पर्ने उर्दा नजिकै दुईवटा तीव्र गतिको  (हाई-स्पीड) रेल एकापसमा ठोक्किएर ठुलो दुर्घटना भएको छ।दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको पुष्टि भएको छ भने मृतकको संख्या अझै बढ्न सक्ने चेतावनी अधिकारीहरूले दिएका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मोरा र ओर्गाज (टोलेडो प्रान्त) बीचको रेलमार्गमा सरकारी कम्पनी ‘रेन्फे’को रेल र निजी कम्पनी ‘इरियो’द्वारा सञ्चालित रेल एकापसमा ठोक्किएका हुन्।

दुर्घटनाका कारण रेलका दुईवटा डिब्बाहरू लिकबाट बाहिर खसेका छन्। घटनास्थलमा टोलेडो तथा आसपासका उद्धारकर्मी, दमकल, दुईवटा मोबाइल आईसीयू र तीनवटा हेलिकप्टर तैनाथ गरी तीव्र रूपमा उद्धार कार्य जारी राखिएको छ।

उक्त मार्ग (म्याड्रिड-सेभिल रुट) भई चल्ने सबै रेल सेवाहरू हाललाई पूर्ण रूपमा रोकिएका छन्।

स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजले यस घटनाप्रति स्तब्धता प्रकट गरेका छन्। “म टोलेडोमा भएको गम्भीर रेल दुर्घटनाबाट स्तब्ध भएको छु। म यातायात मन्त्री र कास्तिया-ला मान्चाका अध्यक्षसँग निरन्तर सम्पर्कमा छु। उद्धार टोलीहरू घटनास्थलमा खटिएर प्रभावितहरूको सुरक्षा र सहायतामा जुटिरहेका छन्। सबै पीडित र उनीहरूका परिवारप्रति मेरो हार्दिक संवेदना तथा समर्थन छ”, उनले भनेका छन्।

उर्दाका मेयर मानुएल गालानका अनुसार घाइतेहरूको उपचार र यात्रुहरूको सहायताका लागि स्थानीय खेलकुद हल लगायतका संरचना तयार पारिएको छ।

यो दुर्घटनाले स्पेनी नागरिकहरूलाई गत जनवरी महिनामा भएको अडापुज रेल दुर्घटनाको पीडादायी सम्झना गराएको छ। गत जनवरीमा भएको दुर्घटनामा ४६ जनाले ज्यान गुमाएका थिए। 

अडापुजमा रेलको लिक फुटेका कारण  दुर्घटना भएको थियो भने अहिले उर्दामा भएको दुर्घटनामा सुरक्षा संयन्त्र/प्रणालीको असफलता कारक रहेको प्रारम्भिक आकलन गरिएको छ।

लगातार भएका यी दुर्घटनाहरूले स्पेनको बहुचर्चित उच्च-गति रेल सञ्जालको सुरक्षा प्रणालीमाथि पुनः गम्भीर प्रश्न खडा गरेको छ।

सम्बन्धित खबर

सिफारिस