
काठमाडौँ । ‘एआईको युगमा नेपालका लागि साझा बाटो खोज्दै’ खुला राष्ट्रिय अभियानका संयोजक सौरभ राज पन्तले भारतसँगको सम्बन्धलाई प्रभावकारी बनाउन नेपालमा व्यापक राष्ट्रिय सहमति र साझा दृष्टिकोण आवश्यक रहेको बताएका छन् ।
नयाँदिल्लीमा हालै आयोजित एनडीटीभी वर्ल्ड समिटको एक प्यानल छलफलमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाली राष्ट्रवाद र भारतविरोधी भावनासम्बन्धी विषयमा व्यक्त गरेको अभिव्यक्तिले नेपालमा पुनः बहस सिर्जना गरेको पन्तले बताएका हुन् ।
पन्तका अनुसार, नेपालमा भारतसँगको सम्बन्धलाई हेर्ने दृष्टिकोण राजनीतिक पृष्ठभूमि, वैचारिक धारणा र पुस्तागत सोचअनुसार फरक–फरक देखिने गरेको छ । कम्युनिस्ट पृष्ठभूमिका कतिपय व्यक्तिले परम्परागत रूपमा भारतप्रति असहमति व्यक्त गर्ने शैली अपनाउने गरेका छन् भने लोकतान्त्रिक पृष्ठभूमिका व्यक्तिहरूले तुलनात्मक रूपमा नरम दृष्टिकोण राख्ने गरेका छन् ।
त्यसैगरी, सामाजिक सञ्जालमा सक्रिय नयाँ पुस्ताका कतिपय युवाले पुराना विवादमा अल्झिनुभन्दा भारतसँग विकास साझेदारी र आर्थिक सहकार्यलाई प्राथमिकता दिनुपर्ने धारणा राख्ने गरेको उनले उल्लेख गरे ।
‘यस विषयमा सबैको आ–आफ्नै बुझाइ र दृष्टिकोण छन् । तर, फरक-फरक राजनीतिक विचार र धारणाका आधारमा अगाडि बढिरहँदा विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने दिशामा रहेको भारतसँग प्रभावकारी संवाद र सहकार्य गर्न सकिएला त?’ पन्तले प्रश्न गरे ।
उनले भारतसँगको सम्बन्धलाई केवल भारतसमर्थन वा भारतविरोधको दृष्टिकोणबाट मात्र विश्लेषण गर्न नहुनेमा जोड दिए। नेपालको राष्ट्रिय हित, आर्थिक विकासका आवश्यकता र बदलिँदो विश्व परिस्थितिलाई केन्द्रमा राखेर यस विषयमा गम्भीर बहस गर्नुपर्ने उनको भनाइ छ ।
‘भारतसँगको सम्बन्धलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न व्यापक राष्ट्रिय सहमति आवश्यक छ। त्यसका लागि नेपालको परराष्ट्र नीति र आर्थिक एजेन्डामा साझा राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्छ,’ पन्तले भने ।
यही आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले ‘एआईको युगमा नेपालका लागि साझा बाटो खोज्दै’ खुला राष्ट्रिय अभियान अघि बढाइएको उनले बताए । भारतलगायत प्रमुख अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सम्बन्धलाई नेपालको दीर्घकालीन राष्ट्रिय प्राथमिकतासँग जोड्न र आर्थिक विकासका सम्भावना पहिचान गर्न विभिन्न क्षेत्रका सरोकारवालाबीच संवाद तथा सहकार्य आवश्यक रहेको उनले बताए ।
सो अवसरमा पन्तले राष्ट्रिय हितलाई केन्द्रमा राखेर साझा दृष्टिकोण निर्माण गर्न सके नेपालको परराष्ट्र सम्बन्धलाई थप प्रभावकारी बनाउन र आर्थिक विकासका अवसर उपयोग गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे।