
काठमाडौँ । कामना सेवा विकास बैंकको खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १६ दशमलव ९९ प्रतिशतले बढेको छ ।
बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले २३ करोड ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअनुसार बैंकको खुद नाफा ३ करोड ३५ लाख ७१ हजार रुपैयाँले बढेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि १ दशमलव ४३ प्रतिशतले बढेर ६२ करोड ६४ लाख ८७ हजार रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा अनुपात भने घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४ दशमलव ४१ प्रतिशत रहेको खराब कर्जा अनुपात चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ३ दशमलव ९३ प्रतिशतमा झरेको छ ।
खराब कर्जा घटेसँगै बैंकको कर्जा नोक्सानी व्यवस्थाबापतको इम्पेयरमेन्ट रकम पनि घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ११ करोड ६ लाख रुपैयाँ रहेको यस्तो रकम समीक्षा अवधिमा घटेर ४ करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ ।
वित्तीय विवरणअनुसार बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ११ करोड २ लाख ३६ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, कुल सञ्चालन आम्दानी ७४ करोड ५८ लाख ८४ हजार रुपैयाँ र सञ्चालन नाफा ३३ करोड ८७ लाख ७० हजार रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १५ करोड २१ लाख ६७ हजार रुपैयाँ रहेको छ भने लाभांश क्षमता १५ दशमलव ७६ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २० रुपैयाँ ४६ पैसा रहेको प्रतिसेयर आम्दानी बढेर २३ रुपैयाँ १३ पैसा पुगेको हो ।
बैंकको प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ८४ पैसा रहेको छ । ४ अर्ब २१ करोड १९ लाख ३० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब २२ करोड ८३ लाख ८७ हजार रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।