
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले अर्नव चक्रवातको सम्भावित प्रभावलाई मध्यनजर गर्दै पथप्रदर्शक, पदयात्री तथा पर्यटकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेका सूचना तथा बुलेटिनका आधारमा टानले आफ्ना सदस्य कम्पनी, पथप्रदर्शक, पदयात्री र पर्यटकलाई सतर्क रहन आग्रह गरेको हो ।
विभागको मौसमसम्बन्धी बुलेटिनअनुसार बंगालको खाडीमा विकसित अर्नव चक्रवातले थप शक्ति प्राप्त गरिरहेको छ । उक्त चक्रवात आजदेखि भारतको भू-भागमा प्रवेश गर्ने सम्भावना रहेको छ । यसको प्रभाव नेपालमा कात्तिक १२ गते भोलि रातिदेखि सुरु हुन सक्ने अनुमान गरिएको छ ।
चक्रवातको प्रभावका कारण कात्तिक १३ र १४ गते तराई, चुरे तथा मध्यपहाडी क्षेत्रका विभिन्न स्थानमा चट्याङ, हुरीबताससहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ । त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको जनाइएको छ ।
सम्भावित प्रतिकूल मौसमलाई ध्यानमा राख्दै टानले पदयात्रामा निस्कने पर्यटक तथा पथप्रदर्शकलाई मौसमको अवस्थाबारे नियमित जानकारी लिन, सम्बन्धित निकायले जारी गरेका सूचनाको पालना गर्न र जोखिमयुक्त क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरेको छ ।
मौसमको अवस्था प्रतिकूल भएमा पदयात्रा तथा पर्वतीय पर्यटनसम्बन्धी गतिविधि स्थगित गर्न र सुरक्षालाई प्राथमिकता दिनसमेत टानले आग्रह गरेको छ ।