अबदेखि जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने

दियोपोस्ट संवाददाता

काठमाडौँ । सरकारले जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था लागू गरेको छ । नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ को प्रतिबद्धता र नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ बमोजिम यो व्यवस्था लागू गरिएको हो ।

आगलागी वा पानीले भिजेर नागरिकता नष्ट भएको, च्यातिएर काम नलाग्ने भएको, हराएको, नयाँ ढाँचामा आवश्यक परेको वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने नागरिकले यस व्यवस्थाबाट सेवा लिन सक्नेछन् ।

गृह मन्त्रालयको २०८३ कात्तिक ९ गतेको परिपत्रअनुसार काठमाडौँ उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकलाई सेवा प्रवाह गर्न तीनवटै जिल्ला प्रशासन कार्यालयलाई प्रदेशअनुसार जिम्मेवारी तोकिएको छ ।

जसअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका नागरिकलाई सेवा दिइनेछ । त्यस्तै, जिल्ला प्रशासन कार्यालय ललितपुरबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाका नागरिकले सेवा लिन सक्नेछन् ।

यस्तै, जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट कोशी र मधेश प्रदेशका जिल्लाका नागरिकलाई सेवा प्रदान गरिनेछ । सम्बन्धित कार्यालयमा प्रतिलिपिका लागि निवेदन पेस गर्दा नागरिकको जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमा रहेको विवरणसँग हुबहु मिलेमा प्रतिलिपि जारी गरिनेछ ।

तर, अभिलेखमा विवरण नभिडिएमा, साविकको नागरिकतामा भएको भन्दा फरक नाम, थर, जन्ममिति वा अन्य विवरण सच्याएर प्रतिलिपि लिन चाहेमा वा नागरिकता प्रथम दृष्टिमै शंकास्पद देखिएमा भने नागरिकता जारी भएको साविककै जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।