हिमपात र हिमपहिरोको जोखिम : तीन दिनसम्म हिमाली क्षेत्रमा ट्रेकिङ नगर्न अध्यागमन विभागको आग्रह

दियोपोस्ट संवाददाता

काठमाडौँ । सरकारले कात्तिक १२, १३ र १४ गते उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा (ट्रेकिङ) लगायतका गतिविधि नगर्न आग्रह गरेको छ । भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढेपछि सरकारले तीन दिनका लागि पदयात्रा स्थगित गर्न अनुरोध गरेको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेष चेतावनीलाई ध्यानमा राख्दै अध्यागमन विभागले मंगलबार अत्यन्त जरुरी सूचना जारी गरी उक्त अवधिमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा नगर्न र नगराउन आग्रह गरेको हो ।

विभागले सम्भावित मानवीय क्षति रोक्न पर्यटकहरूलाई उक्त तीन दिन उच्च भेगमा आवतजावत नगर्न अपिल गरेको छ । हाल पदयात्रामा रहेका पर्यटकलाई पनि सुरक्षित स्थानमा पुगेर त्यहीँ बस्न विभागले अनुरोध गरेको छ ।

प्रतिकूल मौसमका कारण जनधनको ठूलो क्षति हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रका निषेधित क्षेत्रमा जानका लागि दिइने पदयात्रा अनुमति पत्रसमेत मंगलबारदेखि कात्तिक १२, १३ र १४ गतेका लागि जारी नगर्ने निर्णय गरेको छ ।

विभागले ट्रेकिङ एजेन्सी, पथप्रदर्शक, पर्यटन व्यवसायी तथा स्वदेशी र विदेशी पदयात्रीलाई मौसमको जोखिमलाई गम्भीरतापूर्वक लिन, प्रशासनिक निर्देशन पालना गर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

सम्बन्धित खबर

सिफारिस