
काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सुविधा लिएको आरोपमा कैलालीका एक शिक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
आयोगका अनुसार कैलालीको बर्दगोरिया गाउँपालिका-४ स्थित श्री जगन्नाथ आधारभूत विद्यालयमा कार्यरत बालविकास सहयोगी कार्यकर्ता शिक्षक हरिराम चौधरीविरुद्ध मुद्दा दायर गरिएको हो ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार चौधरीले राष्ट्रिय सेवक पदमा बालविकास सहयोगी कार्यकर्ता (शिक्षक)का रूपमा कार्यरत रहँदा मालिका माध्यमिक विद्यालय, चौमाला, कैलालीबाट एसएलसी उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक प्रमाणपत्र, मार्कसिट तथा चारित्रिक प्रमाणपत्र पेस गरेको आरोप छ ।
उक्त नक्कली प्रमाणपत्रका आधारमा उनले ओहोदाको लाभ तथा सुविधा प्राप्त गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ । आयोगले चौधरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही उपदफाअनुसार कैद र जरिवानाको सजाय मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।