रुप्से होलिडेज बन्यो विराटनगर किंग्सको आधिकारिक ट्राभल पार्टनर

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल प्रिमियर लीग (एनपीएल) को फ्रेन्चाइजी टोली विराटनगर किंग्सको आधिकारिक टुर एन्ड ट्राभल पार्टनर रुप्से होलिडेज बनेको छ । नेपालको पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजार विस्तारमा काम गर्दै आएको रुप्से होलिडेजले विराटनगर किंग्ससँग साझेदारी गरेको हो ।

यस सहकार्यले नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन तथा खेलकुद र पर्यटनबिचको सम्बन्धलाई थप विस्तार गर्न सहयोग पुग्ने रुप्सेले दाबी गरेको छ ।

रुप्से होलिडेज नेपालको ट्राभल तथा टुर क्षेत्रमा सक्रिय कम्पनी हो । कम्पनीले अन्तर्राष्ट्रिय भ्रमण प्याकेज, चार्टर उडान, कर्पोरेट ट्राभल, माइस पर्यटन तथा विशेष भ्रमण व्यवस्थापनसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।

रुप्से होलिडेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रमेश पराजुलीले विराटनगर किंग्ससँग आधिकारिक ट्राभल एन्ड टुर पार्टनरका रूपमा सहकार्य गर्न पाउँदा उत्साहित भएको बताएका छन् ।

उनले यस साझेदारीमार्फत नेपालको खेल पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने, नेपाली खेलकुदलाई विश्वमाझ चिनाउने तथा खेलकुद र पर्यटनबिच नयाँ अवसर सिर्जना गर्ने लक्ष्य रहेको बताए ।

खेलकुदको विकाससँगै नेपाललाई अन्तर्राष्ट्रिय खेल पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न यो सहकार्य महत्त्वपूर्ण हुने विश्वाससमेत पराजुलीले व्यक्त गरेका छन् ।

रुप्से होलिडेज यसअघि पनि नेपालको क्रिकेट खेलसँग जोडिएको संस्था हो । गत वर्ष भारतमा भएको क्रिकेटमा रुप्से होलिडेजले नेपाली दर्शकहरूका लागि टुर प्याकेज तथा व्यवस्थापन गरेको थियो ।
रुप्सेले क्रिकेटसँगै महिला भलिबलमा पनि सहकार्य गर्दै आएको छ

सम्बन्धित खबर

सिफारिस