
काठमाडौँ । मलेसिया सरकारले नेपालका सबै इजाजतप्राप्त म्यानपावर कम्पनीलाई कामदार पठाउन दिने प्रस्ताव अस्वीकार गरेको छ । मलेसियाको मानव संसाधन मन्त्रालयले नेपाल सरकारलाई पत्र पठाउँदै सीमित म्यानपावर कम्पनीमार्फत मात्रै कामदार भर्ना गर्ने पुरानै नीतिलाई निरन्तरता दिने स्पष्ट पारेको हो ।
नेपालले १ हजार ११४ वटै सक्रिय म्यानपावर कम्पनीलाई मलेसियाको विदेशी कामदार व्यवस्थापन प्रणाली (एफडब्लुसीएमएस) मा आबद्ध गराउन आग्रह गरेको थियो । तर, मलेसियाले २५ वटा मुख्य म्यानपावर कम्पनी र प्रत्येकका १० वटा सहयोगी कम्पनीमार्फत मात्रै कामदार भर्ना गर्ने निर्णय गरेको छ ।
मलेसियाले सीमित कम्पनीमार्फत कामदार भर्ना गर्दा अनुगमन तथा नियमन प्रभावकारी हुने, कामदारको गुनासो छिटो सम्बोधन गर्न सकिने र अत्यधिक शुल्क असुली, सम्झौता परिवर्तन तथा श्रमिक शोषणजस्ता समस्या न्यूनीकरण हुने दाबी गरेको छ ।
नेपालको प्रस्ताव अस्वीकार गरे पनि मलेसियाले द्विपक्षीय सम्बन्धलाई महत्त्व दिँदै सुरक्षित, मर्यादित र पारस्परिक लाभदायक श्रम आप्रवासनका लागि नेपालसँग समन्वय गर्ने प्रतिबद्धता जनाएको छ ।