
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई जनही पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न जिल्ला अदालत ललितपुरले आदेश दिएको छ । जिल्ला न्यायाधीश हरिसिंह धामीको एकल इजलासले बुधबार बयान र थुनछेक बहसपछि उनीहरूलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
दुवै जना बयानका लागि बुधबार अदालतमा उपस्थित भएका थिए ।
खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा उनीहरूसहित एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सन्जीव पाण्डेविरुद्ध मुद्दा दायर गरिएको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान तथा सिफारिसका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले गत असोज २२ गते जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो । अभियोगपत्रमा प्रतिवादीहरूबाट कुल ९३ लाख ९ सय रुपैयाँ बिगो तथा क्षतिपूर्ति भराउन माग गरिएको थियो ।
यसअघि कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे धरौटीमा रिहा भइसकेका छन् ।