जिम जाने जेनजी मोह: के यसको इतिहास नेपोलियनसँग जोडिएको छ?

राजेन्द्र भट्ट

एजेन्सी- बेलायतका एक चौथाइभन्दा बढी युवाहरूले अहिले बिदामा कतै जान वा बाहिर खान जानुभन्दा जिमको सदस्यता (व्यायामशालाको आवद्धता) लाई बढी महत्त्व दिने गरेको बताएका छन्।

खेलकुद इङ्गल्याण्डको तथ्याङ्कले देखाएको छ कि जेनजी पुस्ताले दौडने, पौडी खेल्ने र फिटनेस कक्षाहरू छाडेर व्यायामशाला र शक्तिबर्धक प्रशिक्षणतर्फ ध्यान दिन थालेको छ। उनीहरूका लागि तौल प्रशिक्षण व्यायामको सबैभन्दा राम्रो रूप हो किनभने यसले शक्ति निर्माण गर्न, रूपरंग राम्रो बनाउन र समग्र स्वास्थ्यलाई सुधार्न मद्दत गर्दछ।

मानिसहरूले दुई शताब्दीभन्दा बढी समयदेखि व्यायामका उत्तम रूपहरूकाबारेमा बहस गर्दै आएका छन्। आजका फिटनेस ट्रेन्डहरू शरीर र समग्र फिटनेस सुधार्ने कुरामा बढी केन्द्रित भए तापनि, युगौँदेखि निश्चित व्यायाम ट्रेन्डहरू लोकप्रिय हुनुको एकमात्र कारण स्वास्थ्य मात्रै भने कहिल्यै रहेन।

नेपोलियन र जिम्न्यास्टिक

सन् १८०६ मा नेपोलियन बोनापार्टले प्रुसियामा आक्रमण गरे र अन्जानमै आधुनिक फिटनेस उद्योगको सिर्जना गरे।

नेपोलियनका सेनाहरू पूर्वतर्फ आक्रमण गर्दै अगाडि बढिरहँदा, एक प्रुसियाली नागरिक फ्रेडरिक लुडविग जाह्न रिसले चुर भए। जाह्नको विचारमा प्रुसियाली पुरुषहरू हारेका थिए किनभने तिनीहरू फ्रान्सेलीहरूभन्दा शारीरिक रूपमा कमजोर थिए।

जाह्नका अनुसार देशको समाधान बन्दुकमा होइन, मांसपेशीहरूमा निहित थियो। त्यसैले सन् १८११ मा जाह्नले खुला हावामा रहने व्यायामशाला (टर्न्प्लाट्ज) खोले। युवाहरू दौडिए, उफ्रिए, डोरी चढे, कुस्ती खेले र भल्टिङ गरे। उनीहरूले जाह्नले नै आविष्कार गरेका विश्वास गरिने दुईवटा उपकरणहरूमा पनि झुण्डिएर कसरत गरे। छिट्टै यो ट्रेन्ड अन्य देशहरूमा पनि फैलियो, र सन् १८२५ मा इङ्गल्याण्डको पहिलो खुला हावाको जिम्न्यास्टिक स्कुल खुल्यो।

जाह्नको प्रणाली पछाडिको अन्तर्निहित तर्क (बलियो राष्ट्रहरूलाई शारीरिक रूपमा बलियो सेनाको आवश्यकता पर्छ भन्ने मान्यता) शताब्दीभरि नै पुरुष र महिलाहरूका लागि जिम्न्यास्टिक र क्यालिस्टेनिक्स प्रणालीहरूको एक लहरको लागि युद्धघोष बन्यो।

बडी बिल्डिङको जन्म

भिक्टोरियन युगमा मनोरञ्जनको एक लोकप्रिय रूप ‘स्ट्रोङम्यान शो’ थियो, जहाँ मांसपेशीयुक्त पुरुषहरूले शक्तिका नाटकीय कलाहरू प्रदर्शन गर्दथे। त्यस समयका सबैभन्दा लोकप्रिय कलाकारहरूमध्ये एक चार्ल्स सामसन थिए, जसको कलामा छातीले साङ्गला चुडाउने कार्य समेत समावेश थियो।

तर सन् १८८९ मा, दृश्यमा एक भिन्नै प्रकारको स्ट्रोङम्यान आइपुगे। सामसनको एक प्रदर्शनको क्रममा, जुँगा भएका युगेन स्यान्डोभ नामका एक स्ट्रोङम्यानले लन्डनको एक थिएटरमा सामसनको चुनौती स्वीकार गर्दै आफ्नो ज्याकेट खोलेर प्रस्तुत भए। तर स्यान्डोभलाई अन्य स्ट्रोङम्यानहरूभन्दा फरक बनाउने कुरा उनको शारीरिक बनोट थियो। उनी दुब्लो र आकर्षक रूपले कुँदिएको शरीरका थिए।

सन् १८८९ देखि १९२५ मा उनको मृत्युसम्म, स्यान्डोभ आदर्श शरीरको पर्याय बने। उनलाई हार्वर्ड विश्वविद्यालयका शारीरिक शिक्षाविद् डडलेज सार्जेंटद्वारा “मानवत्वको सर्वोत्कृष्ट नमुना” मानिएको थियो। स्यान्डोभले सन् १९०१ मा लन्डनमा पहिलो ठूलो बडी बिल्डिङ प्रतियोगिता आयोजना गरे र बेलायती साम्राज्य, अमेरिका र अष्ट्रेलियासम्म फैलिएको स्वास्थ्य उद्यम चलाए। हजारौं मानिसहरूले उनका मेल-अर्डर पाठ्यक्रमहरू पछ्याए, उनको पत्रिका पढे र उनको कोको पिए।

स्यान्डोभजस्तै आफ्नो शरीर बनाउन डम्बेल र बार्बेलहरू उठाउनेहरूले आफूलाई “फिजिकल कल्चुरिस्ट” भनेर वर्गीकरण गरे, जसरी आजका मानिसहरूले आफूलाई पिलेट्स, हाइरोक्स वा वेट ट्रेनिङसँग जोडेर परिभाषित गर्छन्।

स्यान्डोभ र अन्यको पछि लाग्दै, मानिसहरू स्वास्थ्यका लागि मात्र नभई राम्रो कामदार, राम्रो जीवनसाथी बन्न, र बढी आकर्षक वा गतिशील हुनका लागि पनि तालिम लिन्थे।

यद्यपि राज्यको भूमिका अझै पनि महत्त्वपूर्ण थियो।  स्यान्डोभले दोस्रो दक्षिण अफ्रिकी युद्धका लागि बेलायती सेनाहरूलाई समेत तालिम दिएका थिए, तर विस्तारै जोड शरीरलाई केवल शरीरकै लागि निर्माण गर्नेतर्फ सर्‍यो।

युद्धोत्तर एरोबिक्स बूम

युद्धोत्तर युगमा व्यायामप्रतिको दृष्टिकोण एउटा नयाँ उदीयमान स्वास्थ्य चिन्ताको कारण बदलियो: मानिसहरू धेरै समय बसिरहेका थिए। यो डर महामारीविद् जेरी मोरिसद्वारा सन् १९५३ मा प्रकाशित एक कार्यबाट उत्प्रेरित भएको थियो, जसले लन्डनका बस चालकहरूलाई सिँढी चढ्ने काममा दिन बिताउने कन्डक्टरहरूको दाँजोमा मुटुको रोग बढी हुने गरेको पत्ता लगाएका थिए। कारण? – निष्क्रियता।

अमेरिकामा, चिकित्सकहरूले बढ्दो मुटुको रोगविरुद्ध अभियान चलाउन थाले। उनीहरूको कट्टर समाधान मानिसहरूलाई निश्चित समयसम्म बिस्तारै दौडिन सल्लाह दिने थाले, जसलाई हामी आज जगिङ भन्छौं। न्युजिल्याण्डमा विकसित भई १९६० को दशकमा अमेरिकामा भित्रिएको जगिङले छिट्टै एरोबिक्सको लहर सुरु गर्यो।

नयाँ जिम चेनहरू पहिले अप्रशिक्षित भएका र दौड्ने तथा एरोबिक्स कक्षा लिने उत्साहीहरूले भरिए। एरोबिक्स कक्षाहरू विशेष गरी महिलाहरू माझ लोकप्रिय भए। र सन् १९६९ मा, फिटनेस प्रशिक्षक ज्याकी सोरेन्सनले पप संगीतमा रुटिनहरू सेट गर्न थालेपछि एरोबिक्स डान्स मुभमेन्टको सुरुवात गरिन्, जस अन्तर्गत ज्याज, लोक, चा-चा र स्क्वायर डान्सका चरणहरूलाई जोडेकी थिइन्।

अभिनेत्री जेन फन्डाको सन् १९८२ को सबैभन्दा बढी बिक्री भएको कसरत भिडियोले एरोबिक्सलाई बैठक कोठासम्म पुर्याउन मद्दत गर्यो, जसले गर्दा एरोबिक्सको लोकप्रियता ८० को दशकभरि बढिरह्यो।

मांसपेशी निर्माताहरू

सन् १९७७ मा यस संसारलाई हिट डकुमेन्ट्री ‘पम्पीङ आयरन’ मार्फत अस्ट्रियाली बडीबिल्डर अर्नोल्ड श्वार्जनेगरसँग परिचित गराइएको थियो। हँसिलो तर आकर्षक, मांसपेशीयुक्त तर सुन्दर, श्वार्जनेगर र उनलाई अगाडि बढाउने उद्यमी जो विडरले हामीले अहिले बुझेझैं बडी बिल्डिङलाई लोकप्रिय बनाए।

‘पम्पीङ आयरन’ सिनेमाघरहरूमा त्यस्तो समयमा आएको थियो जब एरोबिक्सले धेरै मानिसहरूलाई जिममा ल्याएको थियो र नयाँ जिम उपकरणहरूले तौल उठाउन धेरै सहज बनाएको थियो।

श्वार्जनेगरको शारीरिक बनोट छिट्टै पप संस्कृतिमा वीर पात्रहरूको खाका बन्यो। एक्शन स्टारहरू, बालबालिकाका खेलौनाहरू र खेलाडीहरू सबै बडी बिल्डिङको प्रभावबाट अछुतो रहेनन्। ८० को दशकका अग्रणी मेगास्टार सिल्भेस्टर स्टालोनले समेत ‘रम्बो’ र ‘रक्की’ चलचित्रहरूको तयारीका लागि श्वार्जनेगरका प्रशिक्षण साझेदार फ्रान्को कोलम्बुसँग मिलेर आफ्नो शरीरलाई रूपान्तरण गरे।

महिलाहरूले पनि तौल उठाउँदै थिए। लिसा लियोनले सन् १९७९ मा पहिलो महिला ‘विश्व बडीबिल्डिङ च्याम्पियनसिप’ जितेकी थिइन्। दुई दशक पछि महिलाहरूको वेटलिफ्टिंग पनि ओलम्पिकमा पुग्यो।

२००० को दशकसम्म आइपुग्दा, तौल उठाउने काम कुनै सिमित दायराको गतिविधि रहेन। बजेट र २४-घण्टा खुल्ने जिमहरू सामान्य बने भने क्रसफिट र पावरलिफ्टिंग जस्ता खेलहरूमा पुरुष र महिलाहरूको सहभागिता बढ्यो। हालका वर्षहरूमा ‘स्ट्रोङ नट स्किनि’ (#strongnotskinny) ह्यासट्याग इन्स्टाग्राम र टिकटकभरि फैलिएको छ।

व्यायाम वैज्ञानिक एन्ड्रयू स्कट भन्छन् कि यो परिवर्तनमा इन्फ्लुएन्सरहरूको ठूलो भूमिका रहेको छ। यो कुनै नौलो कुरा होइन। स्यान्डोभले पोस्टकार्ड र कोकोका टिनहरूमा आफ्नो शरीर बेचे, फन्डाले भिएचएसमा र श्वार्जनेगरले सिनेमा हलमा आफ्नो शरीर बेचे।

फेरि एकचोटि, हाम्रो वरपरको संसारले मानिसहरूले आफ्नो शरीरलाई कसरी चलाउँछन् भन्ने कुरा परिवर्तन गर्दैछ। दुई सय वर्ष पहिले फिटनेसले देशको सेवा गर्थ्यो। अब यसले एल्गोरिदमको सेवा गर्छ।

[कार्यसम्पादन र शारीरिक संस्कृतिका प्राध्यापक (लफबरो विश्वविद्यालय) क्लेयर वार्डन र खेलकुद समाजशास्त्रका प्राध्यापक/व्याख्याता (अल्स्टर विश्वविद्यालय) कोनर हेफेर्ननले ‘द कन्भरसेसन’ का लागि लेखेका लेखको नेपाली अनुवाद राजु झल्लु प्रसादले गरेका हुन्।]

सम्बन्धित खबर

सिफारिस