अर्बन चक्रवातको प्रभाव नेपालमा देखा पर्यो, उच्च हिमाली क्षेत्रमा हिमआँधी र भारी हिमपातको जोखिम

दियोपोस्ट संवाददाता

काठमाडौँ । बङ्गालको खाडीमा विकसित शक्तिशाली ‘अर्बन ’ चक्रवातको प्रभाव नेपालमा देखिन थालेको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार चक्रवातको प्रभाव बुधबार बिहानदेखि नेपालमा पर्न थालेको हो ।

चक्रवातको प्रभावले बुधबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा मौसम बदली भएको छ । राजधानीमा घाम नलाग्दा मौसम चिसिएको छ भने उच्च हिमाली क्षेत्रमा भारी हिमपात र हिमआँधीको जोखिम बढेको छ ।

यसको प्रत्यक्ष प्रभाव उच्च हिमाली क्षेत्रमा बढी देखिने अनुमान गरिएको छ । चक्रवातसँगै बङ्गालको खाडीको पूर्वी क्षेत्रमा अर्को शक्तिशाली न्यूनचापीय प्रणालीसमेत विकसित भएपछि वर्षा र हिमपातको जोखिम थप बढेको हो ।

भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम र यानमको तटीय क्षेत्रमा बुधबार प्रवेश गरेको चक्रवातले भारतका विभिन्न क्षेत्रमा भारी वर्षा र तीव्र हावाहुरी निम्त्याइरहेको छ । यसको प्रभाव नेपालमा पनि पर्ने भन्दै मौसमविद्हरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

नेपाल मौसम विज्ञान विभागकी मौसमविद् विनु महर्जनका अनुसार चक्रवातको प्रभावले देशका अधिकांश क्षेत्रमा बदली भएको छ भने लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षासमेत भएको छ । कात्तिक १३ र १४ गतेसम्म चक्रवातको प्रभाव तीव्र रहने उनको भनाइ छ ।

उनका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रमा अत्यधिक हिमपातसँगै हिमआँधीको जोखिम छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै ती क्षेत्रका बस्ती तथा पर्यटकीय गतिविधिमा विशेष सतर्कता अपनाउनुपर्ने अवस्था रहेको उनले बताइन् ।

पहाडी तथा तराईका क्षेत्रमा समेत मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ । मौसमविद् निष्ठा निरौलाका अनुसार भारतको बिहार आसपासका क्षेत्रसँग जोडिएका नेपाली भूभागमा हावाहुरीसहित वर्षा हुन सक्छ ।

हिमाली क्षेत्रको अनुगमन तीव्र
चक्रवातबाट हुन सक्ने क्षतिको आकलन गर्न जलविज्ञान अनुसन्धान केन्द्रले उच्च हिमाली क्षेत्रको अनुगमन तीव्र बनाएको छ । केन्द्रका प्रमुख डा। राजन भट्टराईका अनुसार तीन हजार मिटरभन्दा माथि रहेका करिब २३ वटा स्वचालित हिममापन केन्द्रको पछिल्लो अवस्थाबारे जानकारी संकलन गरिएको छ ।

उनका अनुसार यसपटक वर्षा र बाढीभन्दा हिमआँधी तथा हिमपातको प्रभाव बढी चुनौतीपूर्ण हुन सक्ने देखिएको छ । हिमाली क्षेत्रमा कति हिउँ पर्छ भन्ने यकिन गर्न कठिन हुने भएकाले सम्भावित जोखिमको आकलन र अनुगमनलाई प्राथमिकता दिइएको उनले बताए ।

नेपालतर्फ आइपुग्दा चक्रवातको तीव्रता भारतको तुलनामा केही कम हुन सक्ने भए पनि यसको गति र दिशा परिवर्तनले वर्षा तथा हिमपातको मात्रा निर्धारण गर्नेछ । प्रणाली छरिएर अघि बढ्छ वा कुनै निश्चित क्षेत्रमा केन्द्रित हुन्छ भन्ने विषयले पनि यसको प्रभावमा फरक पार्ने केन्द्रको भनाइ छ ।

बिहीबार रातिदेखि चक्रवातको प्रभाव थप स्पष्ट हुने अनुमान गरिएको छ । भारी वर्षाका कारण पहाडी जिल्लामा पहिरोको जोखिमसमेत बढेको छ । सम्भावित प्रभावित क्षेत्रमा एक सय मिलिमिटरभन्दा बढी वर्षा हुँदा पहिरो जान सक्ने भएकाले पूर्वानुमान र सतर्कता सूचना जारी गर्ने तयारी भइरहेको डा। भट्टराईले बताए ।

बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार चक्रवातको सम्भावित प्रभावलाई ध्यानमा राखेर खहरे तथा स्थानीय खोलामा आकस्मिक बाढी आउन सक्ने अवस्थाको अनुगमनसमेत सुरु गरिएको छ ।

यसअघि दसैँअघि नेपालमा प्रवेश गरेको शक्तिशाली न्यूनचापीय प्रणालीका कारण सगरमाथासहित उच्च हिमाली क्षेत्रमा आठ फिटभन्दा बढी हिउँ परेको थियो । अहिले चक्रवातकै रूप लिएको शक्तिशाली मौसमी प्रणाली विकसित भएकाले त्यसबेलाको भन्दा बढी हिमपात हुन सक्ने जोखिम रहेको केन्द्रले जनाएको छ ।

भारतको मौसम विज्ञान विभागले नेपालतर्फ आउने चक्रवातको हावाको गति प्रतिघण्टा १५० देखि १७० किलोमिटरसम्म पुग्न सक्ने अनुमान गरेको छ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय मौसम विभागका मौसमविद् विनोद पोखरेलका अनुसार विभिन्न मौसम पूर्वानुमान मोडेलले भारी वर्षा र हिमपातको सम्भावना देखाएका छन् ।

तीन दिन सतर्क रहन प्राधिकरणको आग्रह
अर्णव चक्रवातको प्रभाव कात्तिक १२ देखि १४ गतेसम्म देशका अधिकांश प्रदेशमा पर्ने सम्भावना रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

प्राधिकरणका अनुसार चट्याङ, हावाहुरी र भारी वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम छ । यसले सडक तथा हवाई यातायातदेखि दैनिक जनजीवनसम्म प्रभावित पार्न सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र नगराउन आग्रह गरिएको छ ।

धानबाली काट्ने तथा भित्र्याउने काम बाँकी रहेकाहरूलाई पनि सम्भावित प्रतिकूल मौसमबाट क्षति हुन नदिन आवश्यक सावधानी अपनाउन भनिएको छ । त्यस्तै, पर्यटकलाई उच्च पहाडी तथा हिमाली क्षेत्रमा नजान र त्यहाँ पुगिसकेकाहरूलाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।

सम्भावित जोखिमका आधारमा आवश्यक परे सवारी आवागमन बन्द गर्न तथा त्यसअघि नै सर्वसाधारणलाई जानकारी गराउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

चक्रवातको जोखिमलाई ध्यानमा राख्दै निषेधित क्षेत्रमा पदयात्रा अनुमति दिने कार्यसमेत स्थगित गरिएको छ । ट्रेकिङ एजेन्सी, पदयात्री र पथप्रदर्शकलाई सम्बन्धित निकायका निर्देशन पालना गर्न आग्रह गरिएको छ ।

सम्बन्धित खबर

सिफारिस