
काठमाडौँ । नागढुंगा सुरुङ मार्ग प्रयोग गरेबापत आगामी १५ कात्तिकदेखि सवारीसाधनले शुल्क तिर्नुपर्ने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सूचना जारी गर्दै सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाइने जनाएको हो ।
सडक बोर्ड नेपालको कार्यकारी समितिको गत १२ असोजको निर्णय तथा नेपाल राजपत्रमा २०८२ चैत २६ गते प्रकाशित सूचनाअनुसार सवारीसाधनको वर्गीकरणका आधारमा शुल्क निर्धारण गरिएको छ । सुरुवाती चरणमा निःशुल्क सञ्चालन गरिएको सुरुङ मार्गमा अब भने सवारीसाधनको प्रकार र आवागमनको दिशाअनुसार फरक-फरक शुल्क लाग्नेछ ।
आयोजनाले सार्वजनिक गरेको शुल्क विवरणअनुसार वर्ग १ अन्तर्गत पर्ने कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।
त्यसैगरी, वर्ग २ अन्तर्गतका मिनीबस, मिनी टिपर तथा ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
वर्ग ३ मा पर्ने बस तथा ट्रकका लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । यस्तै, वर्ग ४ अन्तर्गतका मल्टी एक्सल ट्रक तथा भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौं बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्नेछ ।
नयाँ व्यवस्थासँगै नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनले आफ्नो वर्गअनुसार तोकिएको शुल्क तिरेर आवागमन गर्नुपर्नेछ।