
काठमाडौँ । दशैँमा चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी दिएका छन् । विभागका अनुसार दशैँअघि कार्यालय समयभित्रै इमेल र पोर्टलमार्फत ती उजुरी प्राप्त भएका हुन् ।
श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चबापत पाउनुपर्छ । एक वर्ष सेवा अवधि पूरा नगरेका श्रमिकलाई भने काम गरेको अवधिको अनुपातमा रकम उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।
विभागका महानिर्देशक चक्रपाणि पाण्डेका अनुसार श्रमिकको उजुरीपछि रोजगारदातालाई कानुनी व्यवस्थाअनुसार चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन दिइएको छ । विभागले दशैँअघि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स तथा निजी विद्यालयका छाता संगठनलाई पत्राचार गर्दै श्रमिकको चाडपर्व खर्च सुनिश्चित गर्न आग्रह गरेको थियो ।
चाडपर्व खर्च नपाएको गुनासोपछि श्रम तथा रोजगार कार्यालय बुटवलले रुपन्देहीस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पताललाई कर्मचारीको रकम भुक्तानी गर्न निर्देशन दिएको थियो । त्यसपछि अस्पतालले २४० जना कर्मचारीलाई कुल ४२ लाख ५४ हजार रुपैयाँ चाडपर्व खर्च उपलब्ध गराएको विवरण कार्यालयमा बुझाएको छ ।
पाण्डेका अनुसार विभाग र मातहतका कार्यालयले उजुरीका आधारमा रोजगारदातासँग समन्वय गरी रकम भुक्तानीका लागि पहल गरिरहेका छन् । सामाजिक सञ्जालमार्फत प्राप्त गुनासोमा समेत सम्बन्धित रोजगारदातासँग सम्पर्क गरिएको उनले बताए ।
श्रमिकका गुनासा चाडपर्व खर्चमा मात्रै सीमित नरहेको विभागले जनाएको छ । कतिपय श्रमिकले न्यूनतम पारिश्रमिक नपाएको र नियमित तलब भुक्तानी नभएको गुनासोसमेत गरेका छन् ।
महानिर्देशक पाण्डेले श्रम ऐनले सुनिश्चित गरेको चाडपर्व खर्च उपलब्ध गराउनु रोजगारदाताको कानुनी दायित्व भएको भन्दै ऐनमा भएको व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने बताए ।